विवाह उत्सवमा विपन्नलाई खाद्यान्न सहयोग
दमक । लायन्स क्लब अफ झापा दमकका सदस्य तथा दमकका युवा व्यवसायी विष्णु शाह र सितादेवी शाहले आफ्नो २२ औ विवाउत्सवको अवसर पारेर दमक-७ का १२ अति विपन्न घर परिवारलाई कम्तीमा १ महिना पुग्ने गरी दैनिक उपभोग्य खाद्य सामाग्री उपलब्ध गराएका छन् ।
वडा नं। ७ को वडा कार्यालयको सिफारिसमा अति विपन्न १२ घर परिवारको छनोट गरेर शनिवार बिहान चामल, दाल, तेल लगायतको दैनिक आवश्यकीय उपभोग्य सामाग्री उपलब्ध गराइएको लायन्स क्लब अफ झापा दमकका प्रथम उपाध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
विवाह उत्सवमा फजुल खर्च नगर्ने उद्देश्य अनुसार वार्षिक रुपमा आफूले यस प्रकारको कार्यमा सहयोग गर्दै आएको र यो पटक दमकका १२ विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दा आफूलाई खुसी लागेको विष्णुकुमार शाहले जनाए ।
खाद्यान्न वितरण कार्यक्रममा वडाध्यक्ष भीम पौड्यालले आफ्नो वार्डमा १ सयभन्दा बढी घरपरिवार अति विपन्न रहेको र ३० भन्दा बढी घरपरिवारलाई वार्ड कार्यालयले नै राशनको व्यवस्था गरिदिँदै आएको जनाए । लायन्स क्लब अफ झापा दमक मार्फत यस प्रकारको खाद्यान्न सहयोग निरन्तर हुने अपेक्षा लिएको उनले बताए ।
क्लबका अध्यक्ष लोकेश सापकोटाको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा लायन्स लिडर अजय अग्रवाल लगायतले शुभकामना राखेका कार्यक्रम सचिव राजकुमार खड्काले सञ्चालन गरेका थिए ।