२०८३ असार ३ गते , बुधबार

बिर्तामोडमा जिउँदा सुकुम्वासीको घर भत्काएर मरेकाका लागि घाट बनाइँदै

sajilo news
झापा
२०८१ बैशाख ३० गते , आईतबार
बिर्तामोडमा जिउँदा सुकुम्वासीको घर भत्काएर मरेकाका लागि घाट बनाइँदै

बिर्तामोड । झापाको बिर्तामोड–७ स्थित देउनियाँ खोलाको छेउमा ६ घर सुकुम्वासी बस्ती छ । अन्त कतै बास बस्ने ठाउँ नभएपछि विगत अढाई दशकदेखि सुकुम्वासीहरू त्यही ठाउँमा बस्दै आएका छन् । सुन्दर–निचाझोडा सामुदायिक वनको छेउमा रहेको यो बस्तीका तीन घर सुकुम्वासीका लागि नगरपालिकाले सहारा नेपाल सहकारीको सहयोगमा पाँच वर्षअघि घर नै बनाइदिएको थियो । तर, तीनै सुकुम्वासीको घर भत्काउन नगरपालिका सत्ता र शक्तिको आडमा डोजर लिएर गाउँ पुगिरहेको छ । मरेका मानिसका लागि घाट र मलामी घर बनाउन जिउँदा सुकुम्वासीलाई उठीबास लगाउन नगरपालिका राज्य शक्तिको दुरुपयोग गरिरहेको छ । 

सुकुम्वासी र स्थानीयले हारगुहार गर्दागर्दै बिहीबार नेपाल प्रहरी, सशस्त्र प्रहरी नगर प्रहरी र एमाले कार्यकर्ता गरी करिब दुई सयको हुल लिएर पुगेका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र बिर्तामोड–७ का वडाध्यक्ष कृष्ण अविरल खरेल पुगेर सुकुम्वासीमाथि हातपात गर्दै डोजर चलाए । मरेकाका लागि घाट बनाउँदा एउटा सुकुम्वासीलाई घरबारविहीन बनाए । देशमा गरिबीले थिचिएर सुन्दर भविष्यको कल्पना गर्दै वैदेशिक रोजगारीका लागि युएई पुगेकी सुकुम्बासी सीता आचार्य खरेलको घरमा नगर उपप्रमुख, वडाध्यक्ष, प्रहरी र एमाले कार्यकर्ताको जत्थाले जबरजस्ती उनको कच्ची घरमा डोजर चलायो । उनको घरमा रहेका केही सामान पनि निकाल्न नपाइएको उनका बुवा सुकुम्वासी मोहनलाल आचार्यले बताए । ‘देशमा केही उपाय नलागेपछि छोरी बिदेसिएकी हो । श्रीमानको भर छैन । व्यवहार सबै उसैको काँधमा छ ।  विदेशमा पनि सोचेजस्तो भएन,’ मोहनलालले भने, ‘गुन्डाजस्ता मान्छे आएर जबरजस्ती गरेर घर नै भत्काए । अब ऊ आएर कहाँ बस्छे ?’ 

घर नभत्काइदिन उनीहरूले आग्रह पनि गरे । तर, दुई सयको हुलले उनीहरूको आग्रह सुनेन । ‘म सुकुम्वासी हुँ । अन्तकतै केही छैन । झन्डै दश हजारको पराल किनेर राखेको थिएँ । त्यो पनि डोजर लगाएर काम नलाग्ने गरी फालिदिए,’ मोहनलाल भन्छन्, ‘हाम्रा लागि काम गर्छन् भन्ने लागेको उल्टै हामीमाथि आक्रमण गरे ।’

सुकुम्वासी स्थानीयले घरै छेउमा घाट र मलामी घर नबनाउन स्थानीय सरकारलाई बारम्बार आग्रह गरे । निर्माणभन्दा अगाडि स्थानीयसँगको छलफलमा पनि सुकुम्वासी र उनीहरू आसपासका नबनाउन आग्रह गरेका थिए । तर, वडाध्यक्ष खरेलले स्थानीयको कारण साढे पाँच लाख बजेट फ्रिज हुने र आफ्नो बदनाम हुने भन्दै जसरी पनि घाट र मलामी घर बनाइ छाड्ने भन्दै अडान लिएको स्थानीय सुशीला आचार्यले बताइन् । 

बिहीबार बस्तीमा डोजर आएपछि सुकुम्वासीहरू रुँदै नजिकको बस्तीमा पुगेपछि आफूहरू त्यहाँ गएर घर नभत्काउन आग्रह गरेको स्थानीय नरनाथ अधिकारीले बताए । तर, हप्काएर जबरजस्ती डोजर चलाएको उनको दाबी छ । 

वन छेउको यो बस्तीले दैनिक जङ्गली हात्तीसँग पैठेजोरी खेल्नुपर्छ । हात्तीको आक्रमणबाट जसोतो बचेका उनीहरू एमाले कार्यकर्ताको जत्थाको आक्रमणको सिकार बन्न पुगे । उपमेयर सङ्ग्रौला महिलालाई हात लगाउन पनि पछि परेनन् । ४० वर्षीया डिप्रेसनकी बिरामी चन्द्र दर्जीलाई उपप्रमुख सङ्ग्रौलाले घचेडेर लडाएको उनको आरोप छ । ‘घर नभत्काइदिन भन्दै म गएँ । उपमेयरले तँ अरूले उचालेको भरमा नआइज भन्दै घचेडे । त्यसपछि म लडेँ,’ उनले भनिन् । 

दुई सयको जत्थाको प्रतिकार गर्न करिब दश जना मात्र स्थानीय थिए । उनीहरूलाई प्रहरीले हैन एमाले कार्यकर्ताले हातपात गरेको स्थानीय देवीमाया अधिकारीले बताइन् । उनको पनि खुट्टामा चोट लागेको छ । ‘घर भत्काउँदा नभत्काइदिनु भन्दै जाँदा दादागिरी शैलीमा हातपात गरे । मेरो खुट्टामा चोट लागेको छ,’ उनले भनिन् । स्थानीय दाताराम आचार्यलाई पनि एमाले कार्यकर्ताले घोक्र्याएको बताए । 

स्थानीयलाई प्रहरीसहित पुगेको उपप्रमुख र वडाध्यक्षको टोलीले हातपात ग¥यो । तर, आफूहरूले गरेको हातपातलाई छायामा पार्न वडाध्यक्ष खरेलसहितको टोलीले स्थानीयले कुटपिट गरेको भन्दै उल्टै स्थानीयविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जाहेरी आएको पुष्टि गरे । तर, के विषयमा आएको भन्ने हेर्न नभ्याएको उनले बताए । 

यता बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले आफूले महिलामाथि हातपात नगरेको दाबी गरे । उनले त्यहाँ मलामी घर र घाट निर्माणका लागि माओवादी कार्यकर्ताले अवरोध गरेको बताए । नन्दु उप्रेती नाम गरेका स्थानीयले वडाध्यक्ष खरेलमाथि हातपात गरेको उनको दाबी छ । उनले सरकारी सम्पत्ति संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको बताए ।

वडाध्यक्ष खरेलले पनि मलामी घर बन्नुपर्छ भन्ने सबै पार्टीका डेढ सय हाराहारी र बन्न हुँदैन भन्ने पाँच/सात जना मात्र भएको स्वीकार गरे । तर, त्यही हुलमा र प्रहरीको सुरक्षा घेरामा आफूमाथि आक्रमण भएको उनको दाबी छ । आफूहरूले भने संयतता अपनाएको उनी दाबी गर्छन् । स्थानीय केही व्यक्तिले गम्भीर अपराध गरेकाले इलाका प्रहरी कार्यालय अनारमनि बिर्तामोडमा जाहेरी दिइएको उनको भनाइ छ । यद्यपि स्थानीयको शरीरमा पनि चोटपटक देखिन्छ । 

पुरानो मलामी घर प्रगोगबिहीन, दुई किलोमिटर दक्षिणमा छ अर्को मलामी घर

मलामी घर बनाउने भनेको त्यही ठाउँमा पुरानो मलामी घर छ । तर, संरक्षण अभावमा त्यो मलामी घर जीर्ण छ । नगरपालिकाले त्यो मलामी घर संरक्षण  गर्नुको सट्टा पुनः नयाँ मलामी घर बनाउने गरी स्थानीयको उठीबास लगाएको छ । त्यहाँ पुरानो मलामी घर मात्र हैन अहिले बनाउने भनेको ठाउँबाट करिब दुई किलोमिटर दक्षिणमा देउनियाँ खोलाकै बगरमा गत वर्ष मात्र नगरपालिकाले नयाँ मलामी घर बनाएको छ । मलामी घर मात्र बनाउने वडाको योजनाको स्थानीयले आलोचना गरेका छन् । 

अहिले बनाउने भनेको गोलधापको यो ठाउँमा डिभिजन वन कार्यालयले स्थानीयको निवेदनको आधारमा सब डिभिजन वन कनकाईलाई त्यहाँ दाहसंस्कार स्थल कसले निर्माण गरेको हो स्थलगत निरीक्षण गर्न निर्देशन दिएको छ । यस्तै, डिभिजन वन प्रमुख मेघराज राईले सुन्दर निचाझोडा सामुदायिक वनलाई मलामी घर र दाहसंस्कार स्थल बनाउने कार्य रोक्न र आवश्यक परे डिभिजन वन कार्यालय झापाको सहयोग लिन पनि निर्देशन दिएका छन् ।

तर, बिर्तामोड नगरपालिकाले बलजफती स्थानीयको उठीबास लगाउँदै डिभिजन वनको निर्देशन पनि अटेर गरेर दाहसंस्कार स्थल बनाउन बलजफती गरेको हो । यसरी नगरपालिका र वडालाई बलजफती गर्ने ऊर्जा भर्न प्रदेशसभा सदस्य तथा एमाले नेता एकराज कार्कीको पनि हात छ । उनले डिभिजन वन प्रमुख मेघराज राईलाई फोन गरेर यही स्थानमा दाहसंस्कार स्थल बनाउने भन्दै धम्की दिएको स्रोतको दाबी छ । 

सम्बन्धित समाचार