२०८१ चैत्र १३ गते , बुधबार

मोरङको सुकुना क्याम्पसमा दुई पक्षबीच कुटाकुट

sajilo news
मोरङ
२०८१ बैशाख २९ गते , शनिबार
मोरङको सुकुना क्याम्पसमा दुई पक्षबीच कुटाकुट

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार साँझ दुई पक्षबीच कुटाकुट भएको छ । आपसी विवादमा कुटाकुट हुँदा क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बू घाइते भएका छन् । 

विराटचोकको सुकुना सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएको छ । मध्यम अवस्थाका लिम्बूको टाउकोमा १० टाँका लगाइएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार क्याम्पस परिसरभित्रको मैदानमा विद्यार्थीहरुले क्रिकेटको अभ्यास गरिरहेका बेला दुई पक्षबीच साँझ ६ः४५ बजेतिर विवाद भएको थियो । सुन्दरहरैँचा–१२ घर भएका स्ववियु सभापति लिम्बू र सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष मोरङको बेलबारी नगरपालिका–१० का योगेश दाहाल विवाद मिलाउन भनेर गएका थिए । 

प्रहरीका अनुसार दुवै जनाले सम्झाइबुझाइ गर्दा पनि विवाद नमिलेपछि लिम्बूले क्रिकेटको स्टमले हान्दै क्याम्पस परिसरभित्र रहेका सबैलाई बाहिर निकाल्न थाले । त्यही क्रममा क्रिकेट स्टमले अनेरास्ववियुका अध्यक्ष दाहालको टाउको र खुट्टामा लाग्यो । घटनापछि आक्रोसित भएका दाहालले क्याम्पसको गेट बाहिर निस्कनसाथ लिम्बूलाई चिर्पटले प्रहार गरेको डीएसपी बस्नेतले बताए । 
उनका अनुसार चिर्पट प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको छ । घटनामा प्रयोग गरिएको चिर्पट हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । घटनापछि अनेरास्ववियुका अध्यक्ष दाहाल फरार छन् । 
इलाका प्रहरी कार्यालय विराटचोकका सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्का नेतृत्वको टोलीले दाहालको खोजी गरिरहेको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार