बिर्तामोडमा बैङ्क तोडफोड गर्नेहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान
झापा । बैङ्क तोडफोडको घटनामा संलग्नमाथि प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको छ । आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को नागरिक युवा दस्ताले बिर्तामोडका तीन वटा बैङ्कमा हिजो ढुङ्गा हानेको थियो ।
बिर्तामोडको एभरेस्ट बैङ्क , ज्योति विकास बैङ्क र एनआइसी एसिया बैङ्कमा ढुङ्गा प्रहार भएको हो । तोडफोडमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड ३ बस्ने २७ वर्षीय मनकुमार तामाङ, बुद्धशान्ति ४ का ३४ वर्षीय अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका १६ वर्षीय दीपेश राई र बिर्तामोड ४ बस्ने १८ वर्षीय पवन दुलाल रहेका छन् । आपराधिक गतिविधिमा संलग्न भएकाले म्याद थप गरी उनीहरूमाथि अनुसन्धान सुरु गरिएको डीएसपी विष्टले जानकारी दिए ।
गत वैशाख २५ गते एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कले ऋणीलाई सास्ती दिएको भन्दै बर्दिया राजापुरका खुसीराम चौधरी आत्महत्या गरेको आरोप लगाइएको छ । त्यसैको विरोधमा दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताले बैङ्कमा तोडफोड गरेको थियो । हिजो बिहान ११.४० बजेको समयमा बिर्तामोड ५ स्थित सिटी सेन्टर अगाडिबाट राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको नागरिक युवा दस्ताद्वारा बैङ्क तथा वित्तीय संस्थाले गरेको ज्यादती विरुद्धमा पैदल र्याली आयोजना गरिएको थियो । नागरिक युवा दस्ता झापाका कार्यकारी प्रमुख भीम तुम्बाहाम्फे नेतृत्वमा अन्दाजी ४०–५० जनाको सङ्ख्यामा भेला भई सिटी सेन्टरबाट मुक्ति चोकतर्फ जाँदै गरेको अवस्थामा र्यालीका सहभागीहरूले ज्योति विकास बैङ्क र एभरेस्ट बैङ्कमा ढुङ्गा हानेका थिए ।
यसअघि गत असोज २५ गते अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा नागरिक अभियानका कार्यकर्ताहरूले सवारीसाधन तोडफोड गरेका थिए ।