बजेट अधिवेशन आजदेखि

झापा । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।
हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन्। हिउँदे अधिवेशन प्रभावकारी नभएको गुनासोपछि सभामुख देवराज घिमिरेले सभाको अवरोध अन्त्यलगायतका विषयमा बुधबार प्रमुख दलका शीर्ष नेतासँग समेत परामर्श गरेका थिए । अघिल्लो अधिवेशनबाटै सुरु भएको सहकारीको रकम हिनामिना प्रकरणको विषयमा संसदीय छानबिन समिति बन्ने वा नबन्ने विषय निक्र्यौल भने भएको छैन ।
अधिवेशनको प्रारम्भमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने छ । यस्तै सभामुख, अध्यक्ष तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको घोषणा हुने छ ।
दलीय आधारमा सदनलाई सम्बोधन पनि संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ । साथै लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश पनि बैठकमा पेस गर्ने राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा छ ।
प्रतिनिधि सभाले भने अध्यादेश सम्भावित कार्यसूचीमा राखेको छैन । अध्यादेश जारीपछिको अधिवेशनको पहिलो बैठकमै अध्यादेश पेस गर्नुपर्ने व्यवस्था भए पनि सरकारका तर्फबाट सचिवालयले कुनै जानकारी पाएको छैन । जसका कारण प्रतिनिधि सभाले सम्भावित कार्यसूचीमा अध्यादेश राखेको छैन ।
साथै लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश पनि बैठकमा पेसको कार्यसूची रहने छ । संविधान सभा तथा संसद्का पूर्वसदस्य निधनको शोक प्रस्ताव पनि कार्यसूचीमा हुने छ ।
विधायिकी कार्यमा भने यो पटक पनि ठोस् उपलब्धि हुने देखिन्न । माथिल्लो सदनबाहेक प्रतिनिधि सभाले विचाराधीन विधेयकको प्रतिवेदन तयार पार्न सकेको छैन । सङ्घीय संसद्का सहायक प्रवक्त दशरथ धमलाका अनुसार दुवै सदनमा विभिन्न चरणमा गरेर २५ विधेयक छन् । जसमध्ये प्रतिनिधि सभामा विभिन्न चरणमा २३ विधेयक छन् ।
त्यस्तै माथिल्लो सभामा दुई विधेयक विचाराधीन छन् । दुईमध्ये एक विधेयक दर्ता मात्र भएको छ । एक विधेयक समितिले दफाबार छलफलसहितको प्रतिवेदन तयार पारे पनि सभामा पेस हुन बाँकी छ । सुरक्षित कारोबारको दफाबार छलफल सकिएको छ । मिडिया काउन्सिल विधेयक सभामा पेस हुने क्रममा छ । प्रतिनिधि सभामा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सङ्घीय निजामती, निर्माणमुखी सामग्री व्यवस्थापन, राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन छन् । यस्तै भन्सार, बैङ्किङ कसुर तथा सजाय, विद्यालय शिक्षा, विद्युत्लगायतका विधेयक पनि प्रतिनिधि सभामा नै विभिन्न चरणमा विचाराधीन छन् । आजको गोरखापत्र दैनिकमा खबर छ।