झापामा लागूऔषध दुर्व्यसन र ओसारपसारको अवस्था भयानक बन्दै
भद्रपुर । पछिल्लो समय झापामा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरिरहेका बेला झापाको भद्रपुरमा लागू औषध दुर्व्यसन तथा ओसार–पसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं.–२ र भद्रपुर नगरपालिकामा (अलग अलग दुई ठाउँ) हुने दुई दिने कार्यशाला गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले उद्घाटन गरे ।
गोष्ठीको उद्घाटन गर्दै प्रमुख निरौलाले लागू औषध दुर्व्यसन र ओसारपसारको अवस्था भयानक बन्दै गएको बताउँदै न्यूनीकरण तथा नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्ने बताए । दुर्व्यसनले कसैलाई पनि भलो नगर्ने उल्लेख गर्दै निरौलाले कम्तीमा आ–आफ्नो घर मात्रै सुधार गर्दा पनि स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउँदै सबै सचेत भएर लागू औषध विरुद्ध उभिन आह्वान गरे ।
कार्यक्रममा अतिथि तथा भद्रपुर नगरपालिका वडा नं.–२ का वडाध्यक्ष रामबहादुर कँडेलले लागू औषध दुर्व्यसन र ओसारपसार समस्याका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । सो अवसरमा वडा नं. १ का वडाध्यक्ष रामप्रसाद अधिकारीले मुख्य समस्यालाई पहिचान गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गरे ।
भद्रपुर नगरपालिका वडा नं.१, २ र ३ नं. वडाका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, आमा समूहमा आबद्ध महिलाहरू लगायतको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल लागू औषध प्रयोगको जिल्लाको तुलनात्मक तथ्याङ्कीय अवस्था, कानुनी व्यवस्था, लागू औषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कका अवस्था लगायतका विषयमा सहजीकरण गरेको कार्यक्रममा लागू औषध दुर्व्यसन के हो ? लागू औषध दुर्व्यसनका चरणहरू, लागू औषध सेवनकर्तालाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार, लागू औषध प्रयोगकर्ताको घर परिवारमा पर्ने असर तथा व्यक्ती स्वयंलाई हेर्नु असर, लत लागेकालाई खान नपाउँदा हुने असर, प्रयोगकर्तालाई सुधार गर्नका लागि घर परिवार र समाजले गर्ने व्यवहार, पुनर्स्थापना केन्द्रको आवश्यकता र महत्त्व लगायतका विषयमा पुनर्जन्म समूह नेपालका राजु गिरीले सहजीकरण गरेका थिए । नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले समस्याका रुपमा देखिएको लागू औषध दुर्व्यसन तथा ओसार पसार नियन्त्रणमा समाजको भूमिका लगायतका विषयमा सहजीकरण गरेको बिनिशा शर्माले बताइन् ।
नारी सञ्चार गृहकी झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्य माथि भीमा शिवाकोटीले प्रकाश पारेकी थिइन् भने कार्यक्रम संयोजक जोस्ना श्रेष्ठले सञ्चालन गरेको सञ्जु शिवाकोटीले जानकारी दिइन् । पूर्व अध्यक्ष अम्बिका भण्डारीसहितको उपस्थिति रहेको कार्यक्रमको सगरमाथा माविका प्रधानाध्यापक डम्बर खनाल, हिमाली टोल विकास संस्था भद्रपुर–१ की अध्यक्ष नीलिमा खनाल,चन्द्र सूर्य टोल विकास संस्थाका सचिव देवराज श्रेष्ठ लगायतले कार्यशाला गोष्ठी उपलब्धिमूलक रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा योजनामा समेटेर कार्यक्रम तय गर्न वडा तथा नगरपालिका समक्ष आग्रह समेत गरे ।