जलेश्वर नगरपालिकाका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायत १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९र८० मा सञ्चालित योजनामा वास्तविक भए गरेको कामभन्दा बढी कार्य गरेको भनी नक्कली विवरण खडा गरेर भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
आयोगले नगर प्रमुख सोनारविरुद्ध रु पाँच लाख ८४ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै आयोगले जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धीरेन्द्र झाविरुद्ध पनि समान बिगो माग दाबी गरेको छ।
नगरपालिकाका वरिष्ठ इञ्जिनियर पवनकुमार झा, इञ्जिनियर राकेशकुमार चौधरी र सवइञ्जिनियर दिपेशकुमार साहविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । आयोगले नगरपालिकाका उपप्रमुख रौशन खातुन, सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध पनि समान बिगो बराबरको माग दाबी गरिएको छ । आयोगले कसुरअनुसार, कारबाहीको माग दाबी गर्दै आज मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।