ओमसाई हस्पिटलद्वारा भद्रपुरका ५०० भन्दा बढी ज्येष्ठ आमाहरूलाई सम्मान
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले मातातीर्थ औँसीको अवसरमा भद्रपुरका पाँच सय भन्दा बढी ज्येष्ठ आमाहरूलाई सम्मान गरेको छ । हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, उनकी धर्मपत्नी गीताकुमारी पोखरेल र दाजु बालकुमार पोखरेलले भद्रपुर नगरपालिका-७ स्थित आफ्नै निवासी बुधबार ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो ।
सौर्य एयरलाइन्सका अध्यक्ष समेत रहेका दीपकका परिवारले आमाहरूलाई साडी, नगदसहित मिष्ठान भोजन गराएर सम्मान गरेका थिए । मातातीर्थ औँसीमा विगत तीन वर्षदेखि माताहरूलाई सम्मान गर्दै आइरहेको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिने दीपक पोखरेलले बताए । आमाहरूको सम्मान नै आशीर्वाद भएको उनको भनाई छ ।
भद्रपुरका १० वटै वडाका ६८ वर्षदेखि १०५ वर्षसम्मका ज्येष्ठ आमाहरूलाई सम्मान गरिएको हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले जानकारी दिए । उनले टाढा टाढाबाट आउने ज्येष्ठ आमाहरूलाई सवारीसाधनमार्फत ल्याएर पनि सम्मान गराएको उनले बताए । सोही कार्यक्रमकामा आमाहरूको हस्पिटलले स्वास्थ्य परीक्षणसमेत गरेका थिए ।