२०८१ बैशाख १९ गते , बुधबार

झापा गाउँपालिकामा शैक्षिक स्तर खस्कियो, कक्षा ८ मा चार विद्यालय निल

sajilo news
झापा
२०८१ बैशाख ६ गते , विहीबार
झापा गाउँपालिकामा शैक्षिक स्तर खस्कियो, कक्षा ८ मा चार विद्यालय निल

झापा । कक्षा ८ को परीक्षाफलले झापा गाउँपालिकाको शिक्षाको खस्किँदो स्तरलाई उदाङ्गो पारिदिएको छ । कक्षा ८ मा झापा गाउँपालिकाका चार वटा सामुदायिक विद्यालयको नतिजा निल भएको छ । त्रिभुवन , कुवाडी , महेन्द्र र सरस्वती माविको नतिजा निल भएको हो । त्रिभुवनका ४९ , कुवाडीका ४१ , महेन्द्रका ३६ र सरस्वतीका २३ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै जना फेल भएका छन् । त्यस्तै दुई वटा सामुदायिक विद्यालयले १० प्रतिशतभन्दा कम नतिजा ल्याएका छन् ।जनता माविका ६५ जना विद्यार्थीहरूले परीक्षा दिएकोमा ३ जना मात्र उत्तीर्ण भएका छन् भने डिल्लीराज माविका ११ जना मात्र उत्तीर्ण भएका छन् जबकि सो विद्यालयका १३९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

त्यस्तै ३ वटा सामुदायिक विद्यालयले २० प्रतिशतभन्दा कम नतिजा ल्याएका छन् ।जनकल्याण माविका ५१ जना विद्यार्थीले परीक्षा दिएकोमा ८ जना अर्थात् १५.६८ प्रतिशत , सिमलवारि माविका २९ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ जना अर्थात् १३.७९ प्रतिशत र भृकुटी माविका ४३ जना विद्यार्थीले परीक्षा दिएकोमा ७ जना अर्थात् १६.२७ प्रतिशत उत्तीर्ण भएका छन् । रामजानकी माविले भने ४२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । सो विद्यालयका तर्फबाट १४ जना विद्यार्थीले परीक्षा दिएकोमा ६ जना उत्तीर्ण भएका हुन् ।

निजी विद्यालयको परीक्षाफल पनि त्यति सन्तोषजनक छैन । ८ वटा विद्यालय परीक्षामा सहभागी भएकोमा ४ वटाको मात्र परीक्षाफल सन्तोषजनक देखिएको छ । अन्य ४ वटाको त्यति चित्तबुझ्दो रहेको छैन । चन्द्र ज्योतिले ८९.१८ प्रतिशत , गौतम बुद्धले ८८.८८ प्रतिशत , जय पाथीभराले ८७.५ प्रतिशत र साउथ होराइजनले ८४.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । राम्रो नतिजा नल्याउने निजी विद्यालयहरूमा वन्डरलाइफ ३१.२२ प्रतिशत , टाइनिटस ४५.४२ प्रतिशत, सेन्ट जेभियर ६० प्रतिशत र लोयलाले मात्र ६२.९६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराउन सकेका छन् ।

झापा गाउँपालिकाले कक्षा ८ को परीक्षा गराएको थियो । झापा गाउँपालिकाको शैक्षिक स्तर खस्किएको स्वीकार गर्दै शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले यो नतिजाले शिक्षाको वास्तविक अवस्था उदाङ्गो पारिदिएको बताए । उनले अब गाउँपालिका , विद्यालय , शिक्षक , विद्यार्थी , अभिभावक गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए । कक्षा ८ मा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीका लागि पालिकाले ग्रेड वृद्धि परीक्षा गर्ने भएको छ । झापा गाउँपालिकामा सामुदायिक , संस्थागत र परम्परागत गरी १९ वटा विद्यालय रहेका छन् ।

सम्बन्धित समाचार