शिक्षक महासंघ झापाको अध्यक्षमा खरेल निर्वाचित
शिक्षकहरूको साझा संगठन नेपाल शिक्षक महासंघ झापाको अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले तोकेको प्रतिनिधि तथा जिल्ला निर्वाचन समितिका संयोजक निर्मला कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो ।
सोही निर्वाचन समितिले महेन्द्र रत्न माध्यमिक विद्यालयमा आज नयाँ समिति घोषणा गरेको हो । महासंघले निर्धारण गरेको आचारसंहिता र कार्यविधि अनुसार विभिन्न शिक्षक घटकहरूबाट नयाँ समिति गठन गरिएको निर्वाचन समितिकी संयोजक कोइरालाले बताइन् । उनले फागुन २२ गते जिल्लाका १५ वटै पालिकामा महासंघको एकाइ गठन भइसकेको र यही बैशाख १० गतेदेखि काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले सबै शिक्षक संघ संगठनसंगको सल्लाहमा महासंघको जिल्ला नेतृत्व गठन गरिएको जानकारी दिइन् ।
महासंघको जिल्ला नेतृत्व चयन भएपनि सबै संगठनहरुले नाम नदिएका कारण समितिले पूर्णता पाइसकेको छैन । हालसम्म सहअध्यक्षमा विश्वनाथ राजवंशी , सहसचिवमा टिकाराम खवास , सहसचिव (महिला) शारदा प्रसाईँ पाठक तथा सदस्यहरूमा रत्नबहादुर कटुवाल , मित्र खनाल , साहिद हुसैन , कुमारी उषा अधिकारी ,मणिराज दंगाल , टंकप्रसाद आचार्य, सोमनाथ गुरागाईँ र प्रकाशचन्द्र गौतम चयन भएका छन् ।त्यस्तै संस्थागत सहसचिवमा राजेन्द्रप्रसाद प्रसाईँ र विष्णुप्रसाद भट्टराई रहेका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा महेन्द्र विलास लुइँटेल , धर्मानन्द निरौला , हरि सुवेदी , इन्दिरा कँडेल चुँडाल , सरिता चेम्जोङ, प्रदेश महाधिवेशन प्रतिनिधिमा लेखनाथ पौडेल , हरि पोखरेल , जीतलाल चौधरी , गोविन्द काफ्ले , लक्ष्मण राजवंशी र गीतासरि राजवंशी चयन भएका छन् ।
निर्वाचन समिति संयोजक निर्मला कोइरालाको अध्यक्षता तथा शिक्षक महासंघको राष्ट्रिय समितिका पदेन सदस्य रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल , एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रवीन्द्र मैनाली , नेपाल शिक्षक परिषद्का अध्यक्ष टंक कटुवाल , प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना , संघीय शिक्षक फोरमका अध्यक्ष सिताराम यादव, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष चन्द्र प्रसाईँले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष द्रोणबहादुर श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित रहेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले प्रतिबद्धता मन्तव्य राखेका थिए । रवीन्द्र मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले गरेका थिए ।