थपेको थप्यै ऋणमाथि ऋण, पुग्यो २३ खर्ब ८६ अर्ब

काठमाडौँ । पर्याप्त मात्रामा राजस्व उठाउन असफल बन्दै गएको सरकारले चालू खर्च र पुँजीगत खर्च धान्न आन्तरिक र बाह्य ऋण थपेको थप्यै गरेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा मात्र सरकारले सार्वजनिक ऋण २ खर्ब २८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपेको हो । चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
सरकारको ऋण तथा भुक्तानीको व्यवस्थापन गर्दै आएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत)सम्ममा सरकारले २ खर्ब ३८ अर्ब ९३ करोड रुपियाँ थप ऋण लिएको छ । जसमध्ये सरकारले १ खर्ब ७६ अर्ब आन्तरिक र ६२ अर्ब ९३ करोड ९९ लाख रुपियाँ बाह्य ऋण उठाएको छ ।
फागुनमा १६ खर्ब ४७ अर्ब कर्जा लिएको सरकारले चैतमा १७ खर्ब ३४ अर्ब ४९ लाख थप कर्जा लिएको छ । सरकारले कर्जा मात्र लिएको भने पक्कै होइन । यस बीचमा कर्जा र ब्याज पनि भुक्तानी गरेको छ । गत साउनदेखि चैतसम्ममा सरकारले ऋणबापत २ खर्ब ९ अर्ब १५ करोड रुपियाँ भुक्तानी गरेको छ । जसमध्ये साँवाबापत १ खर्ब ५२ अर्ब ५० करोड र ब्याजबापत ५६ अर्ब ६५ करोड रुपियाँ ब्याजबापत भुक्तानी गरेको छ । कुल भुक्तानीमध्ये आन्तरिक ऋणबापत सरकारले साँवाब्याज गरेर १ खर्ब ७५ अर्ब ४० करोड रुपियाँ भुक्तानी दिएको छ भने बाह्य ऋणबापत साँवाब्याजसहित ३३ अर्ब ७४ करोड रुपियाँ भुक्तानी भएको छ ।
बाह्य कर्जाले सरकारी खर्च धान्न नसकेपछि सरकारले आन्तरिक कर्जा पनि बढाएको बढायै गरेको छ । जसले गर्दा आन्तरिक कर्जा मात्रै पनि ११ खर्ब ७९ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ । बाह्य ऋण भने १२ खर्ब ६ अर्ब ३१ करोड १७ लाख रुपैयाँ रहेको छ । अहिले बाह्य र आन्तरिक कर्जाको अनुपात लगभग ५०ः५० को स्थितिमा पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको नौ महिनामा मात्रै आन्तरिक ऋणतर्फ १ खर्ब ७५ अर्ब ४० करोड ९१ लाख रुपैयाँ थपिएको छ । नौ महिनामा बाह्य ऋणतर्फ ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपिएको छ । नौ महिनामा सरकारले सावाँतर्फ १ खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ तिरेको छ भने ब्याज मात्रै ४९ अर्ब ७८ करोड ५८ लाख रुपैयाँ तिरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।