वान एक्स बेटमार्फत ५७ करोड कारोबार गर्ने तीनजना पक्राउ

वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम संकलन गर्ने उनीहरूलाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरू पक्राउ परेको जानकारी दिए।
‘पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ’, प्रवक्ता रेग्मीले भने। पक्राउ परेकाले ती खाताबाट ५७ करोड ४१ लाख ५७ हजार १४७ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ।