भाषाविद् चूडामणि रेग्मीलाई अभिनन्दन
भद्रपुर । पूर्वका मोतीराम उपनामले परिचित भाषाविद् चूडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ । प्राध्यापन, पत्रकारिता तथा भाषा साहित्यको माध्यमबाट सेवा पुर्याएका रेग्मीलाई ८८ औं वर्ष प्रवेशको अवसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढीले अभिनन्दन गरेको हो ।
रेग्मीले वि सं २०२१ सालबाट मेची महाविद्यालयको संस्थापक भएर तीन दशक बढी प्राध्यापन गरेका थिए भने झापा सदरमुकाम चन्द्रगढीमा रहेर चार दशक बढी समाचारपत्र तथा साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यको निरन्तर सेवा पुर्याएका थिए । रेग्मीले नयाँ स्रष्टा जन्माउन युगज्ञान साप्ताहिक तथा जुही त्रैमासिकको माध्यमबाट विशिष्ट योगदान गरेको कार्यक्रममा सहभागी स्रष्टाहरूले स्मरण गरेका थिए ।
रेग्मीको स्रष्टा व्यक्तित्व परिचय गराउँदै सहप्राध्यापक चूडामणि वशिष्ठले भद्रपुरमा मेची क्याम्पस स्थापना गराउनेदेखि भाषा साहित्यका स्रष्टा जन्माउने काममा युवा कवि मोतीरामले जस्तै रेग्मीले विशिष्ट योगदान दिएको स्मरण गरेका छन् । सहप्राध्यापक वशिष्ठले रेग्मी नेपाली भाषाको झर्रोवादी आन्दोलनको अथक योद्धा भएको बताउँदै युग ज्ञान र जुही पत्रिकाको माध्यमबाट सयौँ भाषा सेवी स्रष्टा जन्माउने विशिष्ट व्यक्तित्व भएको जानकारी दिए ।
वि सं १९९३ साल चैत्र २९ गते सङ्खुवासभाको वानामा जन्मिएका रेग्मी भारतको बनारस विश्व विद्यालयबाट साहित्यचार्य उत्तीर्ण भएपछि नेपाल फर्किएर शिक्षण तथा पत्रकारिताको माध्यमबाट निरन्तर सेवा प्रवाह गरिरहेका छन् । प्रगतिशील विचारधारा राख्ने रेग्मीका कथा, काव्य, निबन्ध, उपन्यास, नाटक र समालोचना गरी दर्जनौँ कृति प्रकाशित छन् भने भाषा तथा व्याकरणका पुस्तकसमेत प्रकाशित भएको पाइन्छ ।
पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको अध्यक्षता तथा मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमलप्रसाद गुरागाईँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष गोविन्द कोइराला तथा सञ्चालन सचिव हरिकिशोर आचार्यले गरेका थिए ।