२०८३ असार १ गते , सोमबार

भद्रपुरका कृषकलाई कृषि बिमा सम्बन्धी सचेतना

sajilo news
झापा
२०८० चैत्र ३० गते , शुक्रबार
भद्रपुरका कृषकलाई कृषि बिमा सम्बन्धी सचेतना

भद्रपुर। भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा एक दिने कृषि बिमा सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । शाखाको आ व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि व्यवसायमा आइपर्ने सम्भावित जोखिमहरूबाट कृषकहरूलाई सुरक्षित गराउने र उनीहरूलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले कृषि बिमा कार्यक्रमबारे सचेतना गोष्ठी सम्पन्न गरिएको हो ।

कार्यपालिका सदस्य प्रशंसा ठटालको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय बिमा कम्पनी झापाका प्रमुख खगेन्द्र तिम्सेनाले बिमाको वर्तमान अवस्था र चुनौती शीर्षकमा सहभागीलाई जानकारी गराएका थिए । उनले कृषि तथा पशु बिमाका लागि राज्यले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको भए पनि कृषि उपज बिमाप्रति कृषकले चासो नराखेको जानकारी गराएका थिए ।

झापाका लागि कृषि तथा पशु बिमाको जिम्मेवारी पाएको नेको बिमाका प्रतिनिधिले कृषकले उठाएका बिमा भुक्तानीका समस्याबारे उत्तर दिएका थिए भने अधिकांश कृषकले बिमा गर्दा सहज र सहुलियत भए पनि क्षतिको भुक्तानी लिन कठिन भएकै कारण कृषि बिमामा आकर्षण हुन नसकेको धारणा राखेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शाखाका निमित्त प्रमुख सुमन विमलीले कार्यक्रमपछि कृषि बिमाप्रति कृषकको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा कृषि सहकारी तथा कृषक समूहबाट प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनौटमार्फत कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिकालाई कृषि उपज र पशु उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास गरिरहेको जानकारी दिए । उनले यस आर्थिक वर्षका लागि पशु बिमा गर्न १० लाख रुपैयाँ र कृषि उपज बिमाका लागि ३ लाख रुपैयाँ छुट्टाइएको जानकारी समेत दिए ।

सम्बन्धित समाचार