साउदी अरब गएका बिर्तामोडका रविनको उद्धार
वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका झापा बिर्तामोडका रविन खनालको उद्धार गरिएको छ । बिर्तामोड- २ का २३ वर्षीय खनाल चैत १८ गतेदेखि मानसिक स्वास्थ्य समस्यामा थिए ।
साउदी अरबस्थित सफारी कम्पनीमा कार्यरत खनालको एक्कासि मानसिक सन्तुलन गुमेपछि उद्धारको पखाइमा थिए । हप्ता दिनसम्म उद्धार हुन नसकेपछि परिवारको समेत आग्रहसहितको भिडियो इजलासले सार्वजनिक गरेको थियो । भिडियोमा उनको त्यहाँको अवस्थाबारे पनि देखाइएको थियो । भिडियो सार्वजनिक भए लगत्तै पूर्व मन्त्री अग्नि खरेलले उनको उद्धारका लागि चासो दिएका थिए ।
परिवारबाट विवरण लिई परराष्ट्र मन्त्रालयको काउन्सिलर मार्फत समन्वय गरेका पूर्व मन्त्री खरेलले खनालको टिकट भइसकेको जानकारी दिए । उनका अनुसार रविन शुक्रवार बिहान १२ः१५ बजे नेपाल आइपुग्ने छन् । उनलाई घरसम्म ल्याउनका लागि काका रेवती खनालसहितको टोली काठमाडौँ गएको छ ।
कम्पनीको क्वाटरमा अनौठो हर्कत सुरु गरेपछि साथीहरूले केहिदिन सम्हालेर राखेका थिए । तर, सम्हाल्नै गाह्रो हुने अवस्थामा पुगेपछि साथीहरूले परिवारलाई चाँडोभन्दा चाँडो उद्धार गर्न भनेका थिए । बिर्तामोड–२ बेलडाँगी दक्षिण सुकुम्वासी बस्तीका खनाल एक्लो छोरो हुन् । उनको उद्धारपछि कसरी उपचार गर्ने भन्ने बारे परिवार चिन्तित बनेको छ ।