हल्दिबारीमा सामाजिक सुरक्षा भत्ता लिने ४८ सय नाघ्यो, वार्षिक २० करोड ५५ लाख खर्च

हल्दिबारी । हल्दिबारी गाउँपालिकामा वार्षिक ४८०१ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र ) ले दिनुभएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को चैत २३ गते सम्म सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ४ हजार ८ सय १ पुगेको छ । यो सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
हल्दिबारी गाउँपालिकाका ५ वटा वडाबाट पहिचान गरी पठाएका ज्येष्ठ नागरिक ,ज्येष्ठ दलित ,एकल महिला ,विधवा ,पूर्ण अपाङ्गता ,अति अशक्त र अपाङ्गता ,दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३/३ महिनामा बैक मार्फत उनीहरूकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत बनले जानकारी दिनु भयो ।
पालिकाले उपलब्ध गराएको विवरण अनुसार ११६८ पुरुष र १२०५ महिला गरी २३७३ जना ज्येष्ठ नागरिकले मासिक ४ हजारका दरले ज्येष्ठ नागरिक भत्ता पाउने गरेका छन् । त्यस्तै ६० देखि ६८ उमेर समूहका ज्येष्ठ दलित ७४ महिलाले मासिक २३६० ज्येष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको उपलब्ध विवरणमा जनाइएको छ ।
त्यसैगरी २६३ एकल महिला र ४४८ विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउँदै आएको छ भने ९३ जना पूर्ण अपाङ्गता भएका ५३ पुरुष र ४० महिलाले मासिक ३९९० का दरले अपाङ्गता भत्ता प्राप्त गरिरहेका छन् ।
त्यस्तै अति अशक्त अपाङ्गता भएका ९० पुरुष र ६३ महिला ले मासिक २१२८, दलित बालबालिका ५१ पुरुष र ४३ महिलाले मासिक ५३२ र लोपोन्मुख जातिका ६५४ पुरुष र ६६० महिलाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ । हल्दिबारी गाउँपालिकामा मात्र वार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत २० करोड ५५ लाख २४ हजार २ सय ३९ रुपैयाँ खर्च हुने गरेको छ ।