वन डढेलोले जीवजन्तु असुरक्षित
झापा । चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् । खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा। हेमसागर बरालले बताए ।
“निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,” उनले भने । रुखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् । लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् ।
डा. बरालले कोशी, बर्दिया, चितवन र शुल्काफाँटामा पाइने लोपोन्मुख प्रजातिको खरमजुरको सङ्ख्या डढेलोकै कारण ४० वर्षयता नेपालमा घट्दो क्रममा रहेको जानकारी दिए । उनका अनुसार खरमजुरसहित ८० प्रतिशत रैथाने चराले बचेरा कोरल्ने समयमा डढेलो बढेको छ । उनले बसाइँ सरेर नेपाल आएका चरा बच्चा कोरल्न व्यस्त रहेका बेला डढेलो लागेकाले तिनीहरूको प्रजनन क्रिया बिथोलिएको छ ।
त्यस्तै मुरलीचरी, सुनचरी, स्वर्गचरी, डलर बर्डलगायत ६२ प्रजातिका चरा बच्चा हुर्काउन नेपाल आउने गरेका छन् । स्थानीय मजुर, लुइँचे, वनकुखुरा, गौँथली, माटिकोरे, हलेदो, ढुकुर, कोकले, चिबे, धनेस पनि डढेलोको चपेटामा परिरहेका छन् । पानी चराले प्रजनन गर्ने वातावरण डढेलोले प्रभावित बनेको छ । तराई–मधेश छोएका राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा परेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।