श्रम स्वीकृतिको काम एक घण्टामै
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि एक घण्टाभित्र नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।
आइतबार ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको बताएका हुन् ।
मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युत्को आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताए । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताउँदै मन्त्री अर्यालले यसका लागि कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए ।
सबै कर्मचारीको मेहनतले नै भएको भन्दै उनले यो क्रमलाई कर्मचारीले आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा आफूले गरेको बताए । यसअघि श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए ।
‘हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर, चर्को मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन÷चार दिन लगाएर अल्झाउने काम कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनुहुँदैन । त्यसैले, मेरो पहिलो एजेन्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो’ उनले भने । आजको राजधानी दैनिकमा खबर छ ।