२०८३ असार १ गते , सोमबार

पत्रकार निरौलासहित १५० चुँडाल बन्धुलाई सम्मान 

sajilo news
झापा
२०८० चैत्र २५ गते , आईतबार
पत्रकार निरौलासहित १५० चुँडाल बन्धुलाई सम्मान 

बिर्तामोड । चुँडाल बन्धु आमा बुबा कोषले बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलासहित १५० जना चुँडाल बन्धुलाई सम्मान गरेको छ ।  पत्रकारिताको माध्यमद्वारा संस्थाको गतिविधिलाई प्रचारप्रसार संस्थाको गरिमालाई उच्च राखेको भन्दै चुँडाल बन्धु आमाबुबा कोषले सम्पादक निरौलालाई सम्मान गरेको हो । 

चुँडाल बन्धु कल्याण समिति केन्द्रीय कार्यालय कनकाई –८ लक्ष्मीपुरको सभा हलमा आयोजित कार्यक्रममा  सम्पादक निरौलालाई चुँडाल बन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुँडाल, कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी , जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीलगायतले नगद र सम्मान पत्र प्रदान गरेका थिए । 

चुँडाल बन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुँडालको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपाध्यक्ष जयप्रसाद चुँडालले स्वागत गरेका थिए ।  कार्यक्रममा चुँडाल  बन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुँडालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चुँडाल बन्धु कल्याण समिति अन्तर्गत रहेको चुँडाल बन्धु आमाबुबा कोषबाट प्राप्त व्याजले वार्षिक रुपमा मातातीर्थ औँसीको अवसरमा विश्वभरि छरिएर रहेका चुँडाल बन्धुका ज्येष्ठ आमाबुबा, छोरी , बुहारी र पत्रकारिताको माध्यमबाट चुँडाल बन्धुको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना पत्रकारलाई सम्मान गरिँदै आएको बताए । 

कार्यक्रममा पाँचौँ पुस्ताका १५ जना, छैटौँ पुस्ताका ८१ जना र सातौँ पुस्ताका ४० जना गरी एक सय ३६ जना  ६५ वर्ष माथिका चुँडाल बन्धुकी आमाहरू र ७५ वर्ष माथिका चुँडाल बन्धुका बुबाहरू, चुँडाल बन्धुकी वर्ष उत्कृष्ट छोरी इन्दु चुँडाल मिश्र, चुँडाल बन्धुकी वर्ष उत्कृष्ट बुहारी कुमारी खड्का चुँडाल, चुँडाल बन्धु आमाबुबा कोष वृद्धिका लागि आर्थिक सहयोग गर्ने  दाताहरू सुमित्रा चुँडाल प्रसाईँ, प्रेमरत्न–लक्ष्मी दंगाल चुँडाल, भागीरथा –इन्दु चुँडाल मिश्र, शिषम चुँडाल, चन्द्रप्रसाद–शारदा चुँडाल, हरिकुमार –अर्चना चुँडाल, गोपाल चुँडाललाई सम्मान गरिएको थियो । उनीहरूलाई दोसल्ला, मिष्टान्न, नगद तथा यातायात खर्च र चुँडाल बन्धुहरूको २०८१ सालको क्यालेन्डरसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा  प्रमुख अतिथि शिवाकोटी, चुँडाल बन्धु कल्याण समितिका केन्द्रीय अध्यक्ष गोपाल चुँडाल, पूर्व अध्यक्ष वेणुप्रसाद चुँडाल, ओली बन्धु समन्वय समिति झापाका अध्यक्ष भवानीप्रसाद ओली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चुँडाल बन्धुका ज्येष्ठ आमाबुबा चेलीबेटी भान्जाभान्जि इष्टमित्र ,आमा बुबा कोषका  दातालगायतको सहभागिता रहेको थियो ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रदेव चुँडालले गरेको चुँडाल बन्धु कल्याण समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद चुँडालले जानकारी दिए ।

 

सम्बन्धित समाचार