२०८१ मंसीर २१ गते , शुक्रबार

आमा–बुबा गुमाएकी झापाकी रानीलाई सशस्त्र प्रहरीको निःशुल्क छात्रवृत्ति, अब एपिएफ स्कुलमा पढ्ने

sajilo news
पार्थ मण्डल
२०८० चैत्र २० गते , मंगलबार
आमा–बुबा गुमाएकी झापाकी रानीलाई सशस्त्र प्रहरीको निःशुल्क छात्रवृत्ति, अब एपिएफ स्कुलमा पढ्ने

झापा । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले झापा गौरीगञ्जकी मुसहर समुदायकी रानी ऋषिदेवलाई निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ । २३ औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कल्याणकारी कार्यक्रममा सीमावासीसँग सशस्त्रको सहकार्य अभियान अन्तरगत झापा गौरीगंज गाउँपालिका- ४ की गौरिया प्रावि कक्षा ३ मा अध्ययनरत मेहनती र जेहेन्दार छात्रा रानीलाई एपिएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गर्ने छात्रवृत्ति प्रदान गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले रानीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । अति विपन्न परिवारका बुबा-आमा समेत गुमाएकी हाल दिदी- भिनाजुसँग बस्दै आएकी रानीलाई सङ्गठनले छनौट गरी छात्रवृत्ति प्रदान गरेको जनाइएको छ । 

सङ्गठनले नेपालमै पहिलो पटक झापाबाट छात्रवृत्ति कार्यक्रमको सुरुवात गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति तथा प्रहरी उपरीक्षक कवीन्द्र राईले जानकारी दिए । आमाबुबा गुमाएकी रानीको आगामी शैक्षिक यात्रा एपीएफ स्कुल हुने उनको भनाई छ । साथै सोही कार्यक्रममा अति विपन्न १५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र र विद्यालयलाई २ थान खेलकुद सामग्री वितरण गरिएको उनले बताए । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेलले  देशको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा गर्ने कार्यलाई सशस्त्र प्रहरी बल, नेपालले उच्च प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आइरहेको बताए । यसलाई थप प्रभावकारी बनाउन सीमा इलाकामा बसोबास गर्ने स्थानीय जनताको साथ र सहयोग अपरिहार्य रहने बताउँदै उनले भने, 'सीमा बासी जनताको दैनिक जीवनमा सरोकार राख्ने विविध विषयमा सशस्त्र प्रहरीको संलग्नता भएमा सुमधुर सम्बन्ध स्थापित भई सहज र सुरक्षित वातावरण सृजना हुने छ ।' नागरिकसँगको निरन्तर सम्पर्क र समन्वय भएमा राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण गर्न सहज हुने उनको भनाई छ । 

यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत गत चैत ७ गतेबाट मेचीनगर नगरपालिका १ स्थित तिरिङ्गबाट संयुक्त पैदल यात्रा सुरु गरेको थियो । यो कार्यक्रममा गणले निरन्तरता दिँदै आएको छ । 

 

सम्बन्धित समाचार