२०८३ असार १ गते , सोमबार

मेचीपारि नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, एक लाख ३८ हजारको सामान बरामद 

sajilo news
पार्थ मण्डल
२०८० चैत्र ११ गते , आईतबार
मेचीपारि नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, एक लाख ३८ हजारको सामान बरामद 

झापा । भद्रपुरको मेचीपारि गाउँ आसपासको नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको छ ।  मेचीपारि नाकाबाट भन्सार छलेर दिनहुँ जसो सरसामान नेपाल भित्रिरहेको छ । मेचीपारि नाकाबाट तस्करी मौलाउँदा समेत त्यहाँ आसपास तैनाथ प्रहरी चौकी मेचीपारि, आपगाँछी प्रहरी चौकी महेशपुर र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महेशपुरका टोलीमाथि मिलेमतोको आशङ्का उब्जिएको छ । 

मेचीपारि नाकाबाट तस्कर समूहले भित्राउने सरसामान वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भद्रपुरको टोली त्यहाँ पुगेर बरामद गरिरहेको पाइएको छ । 

यसै क्रममा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले शनिबार दिउँसो साढे ३ बजेको समयमा भद्रपुर–३ पैँतिस लाइन टोल स्थित लिची बगानमा परालले छोपेर राखेको चार बोरा ट्वाइलेट र बाथरुममा प्रयोग हुने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मेचीपारि नाकाबाट भित्राइएको ट्वाइलेटमा प्रयोग हुने ४३ थान ट्युब पाइप, २५ थान. ट्वाइलेटको सिट, ८३.थान वेस्ट पाइप, ५ थान बेसीन पाइप र ७० प्याकेट प्लास्टिक प्लेट गरी जम्मा १ लाख ३८ हजारको सामान बरामद गरेको हो । बरामद गरिएको सामान भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

केही दिनअघि मात्र सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भद्रपुरको टोलीले १० थान पानी तान्ने मोटर लगायतका सामग्री बरामद गरेको थियो । सो सामान पनि त्यही नाकाबाट भित्राइएको थियो । त्यस्तै चैत ३ गते बिहान करिब ३ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट १४ बोरा सुर्ती बरामद गरेको थियो । करिब एक लाख मुल्य बराबरको सुर्ती पनि सो नाकाबाट तस्कर समूहले भित्राएको थियो । 

मेचीपारि नाका भएर तस्कर समूहले झोलुङ्गे पुल, किचनकबध, आपगाँछी लगायतको क्षेत्रबाट सरसामान भित्राउँदै आएको स्रोतको दाबी छ । 

 

सम्बन्धित समाचार