२०८३ बैशाख २४ गते , विहीबार

झापाका होटेल यौन अखडा बन्दै, क्यासिनोमा खुलेआम नेपाली प्रवेश

sajilo news
झापा
२०८० चैत्र ५ गते , सोमबार
झापाका होटेल यौन अखडा बन्दै, क्यासिनोमा खुलेआम नेपाली प्रवेश

झापा । झापामा सञ्चालित ठुला होटेल तथा क्यासिनो नयाँ आवरणमा यौन अखडा बन्दासमेत प्रशासन मूकदर्शक भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आपत्ति जनाएको छ ।

पार्टीका मेची ब्युरो इन्चार्ज सुमन सिंह सिले विज्ञप्ति जारी गर्दै झापामा खोलिएका तारे होटेल तथा क्यासिनोमा नयाँ आवरणमा वेश्यालय सञ्चालन गरेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरेका छन् ।

मुलुक गम्भीर मोडमा पुगेको र राष्ट्रिय स्वतन्त्र तथा जनजीवनमाथि भयानक षडयन्त्र भइरहेका बेला झापामा क्यासिनोको नाममा नेपालीलाई प्रवेश गराई खुलेआम रुपमा जुवाजन्य खेल खेलाई रहेको र गरिब तथा अबोध नेपाली चेलीहरूलाई मनोरञ्जनका लागि प्रयोग गर्ने गरेको भन्दै यस्तो कार्य रोक्न उनले आग्रह गरेका छन् ।

कालो धनलाई वैध बनाउन खुलेका तारे होटेलमा नेपालका व्यवसायीहरूको पुँजी दिनहुँ लुट्दा समेत प्रहरी मूकदर्शक बनेको भन्दै सिले क्यासिनोको नाममा हुने अवैध गतिविधि रोक्न चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।

साना, ठुला होटेलसहित तारे होटेलमा हुँदै आएका कुकृत्य नरोके सङ्घर्षका कार्यक्रमहरू रोक्न आफू पछि नहट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । तारे होटेल र क्यासिनोबाट ठगीमा परेका स्थानीय व्यापारीहरूले दिनानुदिन गुनासो गर्दै आएको र नेपाली चेलीबेटीको मोलमोलाइ र व्यापारपछि झापाका स्थानीय बजारमा भइरहेका छलफल, वित्तीय क्षेत्रमा क्यासिनोका कारण भयानक असर परेको विज्ञप्तिमा उल्लेख छ ।

क्यासिनोमार्फत नेपाली पुँजी पलायन भइरहेको भन्दै त्यसलाई रोक्न सरकार गम्भीर हुनु पर्ने विज्ञप्तिमा उल्लेख छ । चेलीबेटीको मोलमोलाइ र यौनजन्य गतिविधिमा संलग्न गराई सिङ्गो झापा र झापाली लज्जित हुनबाट जोगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

झापामा खुलेका तारे होटेल र अन्य साना ठुला होटेलमा हुने गरेका अवैध गतिविधि आफैँमा निन्दनीय भएको र यसलाई रोक्न झापाका राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन, सरोकारवाला निकाय सबै लाग्नु पर्ने सीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली चेलीबेटीलाई खेलौनाको रुपमा प्रयोग  गर्दै आएको कार्य पार्टीका लागि स्वीकार्य नरेको उल्लेख गर्दै यस्तो कुकृत्य तत्काल बन्द गर्न समेत होटेल सञ्चालकलाई चेतावनी दिइएको छ ।

झापामा दुई वटा पाँचतारे होटेल सञ्चालनमा छन् । योसँगै अन्य दुई वटा होटेलसमेत निर्माणाधीन रहेका छन् । हाल बिर्तामोड र मेचीनगरमा सञ्चालनमा रहेका दुवै तारे होटेलमा खुलेआम रुपमा नेपालीले क्यासिनोमा प्रवेश गर्ने गरेको बताइएको छ । क्यासिनोमा नेपाली व्यवसायी लुटिँदा समेत स्थानीय प्रशासन मौन रहेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख  छ ।

 विदेशी जुवाडेलाई क्यासिनो ठेक्कामा दिने र नेपालीलाई जुवाजन्य खेल खेलाएर टाट पल्टाएपछि व्यवसायीहरू सडकमा रुँदै हिँडेको स्थितिमा समेत प्रशासन मूकदर्शक बन्नु आफैँमा दुःखद हो भन्दै विज्ञप्तिमा यस्तो हुन नदिन सबैलाई आग्रह गरिएको छ ।

तारे होटेलमा हुने जुवाजन्य खेल लामो समयदेखि निर्वाधरुपमा खेलाइँदा समेत प्रशासन मूकदर्शक बन्नुले उनीहरूको समेत संलग्नता रहन सक्ने आशङ्का गरिएको छ । स्रोतका अनुसार दलका ठुला नेता र पहुँचवाला व्यक्तिलाई होटेलले नजराना बुझाउने गरेको बताइएको छ ।

कतिपयलाई होटेलले खाने र बस्नेको प्रबन्ध मिलाई दिएकाले तारे होटेलमा हुने गरेका कुकृत्य बाहिर आउन नसकेको स्रोतको भनाइ छ ।

 

सम्बन्धित समाचार