२०८१ मंसीर २० गते , विहीबार

रुख चढ्दै र ओर्लंदै परीक्षाको तयारी गर्दै युवती

sajilo news
पत्रपत्रिका
२०८० चैत्र ५ गते , सोमबार
रुख चढ्दै र ओर्लंदै परीक्षाको तयारी गर्दै युवती

सुर्खेत । काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् ।  बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् । 

दैनिक एकदेखि दुई घण्टा रुख चढ्ने र ओर्लने यो प्रतिस्पर्धा भने लोक सेवा आयोगको परीक्षाको तयारीका लागि हो । लोक सेवा आयोगले लिने वनरक्षक पदको परीक्षामा सम्मिलित उम्मेदवारले यसरी अभ्यास गर्दै आएका हुन् । तिनमा महिला मात्र होइन, पुरुषको पनि उत्तिकै सहभागिता छ । 

त्यसरी प्रतिस्पर्धात्मक अभ्यास गर्ने युवती पनि काँक्रेविहार वा सुर्खेत आसपासका होइनन् । काँक्रेविहारमा अभ्यासरत युवती जुम्लाबाट डेरा जमाएर सुर्खेतका विभिन्न स्थानमा बस्ने गरेका छन् । 

जुम्लाको सिँजा गाउँपालिका–४ की १८ वर्षीया सपना बुढा अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा बसेर यसरी नै लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै आएको बताइन्। उनले सङ्घीय लोक सेवा आयोग र कोशी प्रदेश लोक सेवा आयोगमा वनरक्षक पदमा दरखास्त दिएकी छिन् । 

वनरक्षकका लागि रुख चढ्नुपर्ने, पौडी खेल्नुपर्ने जस्ता शारीरिक अभ्यास हुने भएकाले यसरी रुख चढ्नु परेको उनले बताइन्। जुम्लामा ठुला रुख नहुने भएकाले सुर्खेतमा आएर रुख चढ्ने अभ्यास गर्नु परेको सपनाले बताइन् । 

उनीसँगै आउनुभएकी सोही स्थानकै १९ वर्षीया सङ्गीता बुढाले जुम्लामा फरेस्ट्री पढेको र आयोगमा वनरक्षक पदमा दरखास्त दिएकाले अभ्यासका लागि रुख चढेको बताइन् । यदि वनरक्षकमा सफल भएमा जङ्गलमा हिँड्नुपर्ने, रुख चढ्नुपर्ने, पौडी खेल्नुपर्ने हुँदा अहिले त्यसैको अभ्यास गरिरहेको उनको भनाइ छ । 

बारम्बारको अभ्यासले अहिले रुख चढ्न सहज भएको जानकारी दिँदै जुम्लाकै कनकासुन्दरी गाउँपालिका–६, पछाडि बाडाकी २१ वर्षीया मालिका पछाईले वनरक्षकको रुख चढ्ने अभ्यास सजिलै पार गर्ने आत्मविश्वास बढेको बताइन् ।

वनरक्षक पदका लागि महिलाले ४.५ मिटर र पुरुषले पाँच मिटर अग्लो रुख चढ्नुपर्ने प्रावधान छ । चढ्नुपर्ने रुख उम्मेदवारलाई तान्न लगाएर चयन गराइन्छ । वनरक्षकका साथै सेनामा पनि रुख चढ्नुपर्ने अभ्यास हुने भएकाले त्यसका लागि पनि अहिले रुख चढ्ने अभ्यास गरेको सपनाले बताइन् । जोखिमको काम भए पनि जागिरका लागि रुख चढ्ने अभ्यास गर्नु परेको उनीहरूको भनाइ छ ।

बुढाका अनुसार प्रयोगात्मक परीक्षामा गोला तानेर रुख चढ्नुपर्ने भएकाले साना, अग्ला, मोटा जस्तासुकै रुख पनि चढ्न सिक्नु पर्छ । वनरक्षक पदका लागि एक सय पूर्णाङ्कमध्ये ५० अङ्क यस्तै शारीरिक अभ्यासको हुने गर्छ । 

प्रदेश लोक सेवा आयोग, कर्णालीका अध्यक्ष रामप्रसाद उपाध्यायले वनरक्षकमा ५० अङ्क उम्मेदवारको अभ्यासको परीक्षण हुने बताए । बाँकी ५० अङ्कमा ३० लिखित र २० अङ्क अन्तर्वार्ताबाट पाउने हुन्छ । ५० अङ्कको प्रयोगात्मक अभ्यासमा रुख चढ्ने, पौडी खेल्ने तथा दुई सय मिटर र तीन हजार मिटरको दौड हुने गर्छ । 

उक्त पदमा अन्य पदको जस्तो धेरै लेखपढ गर्न आवश्यक नभएको आयोगका अध्यक्ष उपाध्यायले बताए । प्रयोगात्मक परीक्षामा उत्कृष्ट हुने यसमा सफल हुन सक्ने उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 

सम्बन्धित समाचार