२०८३ बैशाख २४ गते , विहीबार

छोरा अपहरण गरेको भन्दै पैसा माग्ने झापाका दुईसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन २२ गते , मंगलबार
छोरा अपहरण गरेको भन्दै पैसा माग्ने झापाका दुईसहित तीनजना पक्राउ

झापा । छोरा अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाका १० मा बस्ने २७ वर्षीय शुभम् मैनाली र सुनसरीको धरान उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।

उनीहरूले गत फागुन ५ गते बिहान सप्तरी राजविराज–७ बस्ने पीडितलाई ह्वाट्स एपबाट कल गरी ‘तपाईँको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईँको छोरालाई मारी दिन्छु’ भन्दै धम्की दिएका थिए ।

पीडितलाई विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरूको फरक फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गर्न लगाएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उनीहरूले ह्वाट्स एपको प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएको महतोको भनाई छ । यस विषयमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएका उनीहरूलाई फागुन १८ गते पक्राउ गरेको हो ।

पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाइन) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन सात म्याद थप गरी अनुसन्धान भइरहेको महतोले बताए ।

सम्बन्धित समाचार