२०८१ बैशाख ३ गते , सोमबार

विद्यालय तहमा शैक्षिक सामग्री बिक्री गर्ने व्यवसायीलाई दण्डित गर्ने निर्णय

sajilo news
झापा
२०८० फाल्गुन २ गते , बुधबार
विद्यालय तहमा शैक्षिक सामग्री बिक्री गर्ने व्यवसायीलाई दण्डित गर्ने निर्णय

कनकाई । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाले विद्यालय तहमा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री वितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डित गर्ने निर्णय गरेको छ ।

कनकाई नगरपालिका स्थित सुस्त मनस्थिति सरोकार समाजको कार्यालयमा ११ औ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आयोजना गरेको विविध कार्यक्रम पछि बसेको जिल्ला समितिको बैठकले व्यवसायी वा गैह्र व्यवसायी मार्फत विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरेको पाइए पहिलो पटक १० हजार र त्यसपछि पटकै पिच्छे साबिकको जरिवानामा दोब्बर जरिवाना गर्ने नियम बनेको महासङघ झापाका वरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए । 

विद्यालय हातामा कुनैपनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाउने कानुनी प्रावधान छ । विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री वितरण गरेको पाइएका ती बस्तुको जफत गरी स्थानीय तहमा बुझाउने र विद्यालयलाई विभागीय कारबाहीका लागि नेपाल सरकारका निकायमा पत्राचार गर्ने पनि निर्णय भएको महासङघ झापाले जनाएको छ । 

नेपाल पुस्तक तथा स्टेसनरीको सदस्यता लिन वा नवीकरण गर्न छुटेका व्यवसायीको हकमा फागुन मसान्त सम्मको समय सीमा थप भएको छ । साबिकको शुल्कमा विलम्ब शुल्क  बुझाएर व्यवसायीक फर्म दर्ता वा नवीकरण गर्न सकिने महासङघ झापाले जनाएको छ । यसअघि १ हजार ५ सय बुझाएर महासंङघ झापाको सदस्यता लिन सकिने प्रावधान थियो । अब, ३ हजार बुझाएर सदस्यता खरिद गर्न पाउने महासङघले निर्णय गरेको छ । महासङघ झापाका सचिव चन्द्रमणि घिमिरेका अनुसार विलम्ब शुल्क ३ हजार तिरेर फागुन मसान्त सम्मको समय सीमा थप गरिएको हो । 

यस्तै महासंङघले पुस्तकको अङ्कित मूल्यमा खुद्रा विक्रेताले पाउँदै आएको सुविधा वृद्धि गर्न गराउनका लागि लिखित रुपमा पहल गर्ने निर्णय गरेको छ ।  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको केन्द्रीय समिति, प्रदेश समिति, प्रकाशक संङघ र प्रकाशन गृहलाई लिखित रुपमा आग्रह गर्ने निर्णय भएको छ । झापाले पाउँदै आएको सुविधा कटौती भएको विषयमा व्यवसायी व्यवसायी बिच गम्भीर समीक्षा पनि भएको थियो । आगामी शैक्षिक सत्र देखि पाठ्यपुस्तकको खरिद बिक्रीमा नगदको कारोबार हुने पनि निर्णय भएको छ ।

गएको माघ १२ गतेको पाठ्यपुस्तकका अधिकृत विक्रेता, बजार प्रतिनिधि र खुद्रा बिक्रेताको संयुक्त भेलाले पाठ्यपुस्तकको खरिद बिक्री वितरणलाई मर्यादित, व्यवस्थित र सहज रुपमा अगाडी बढाउन केही नीतिगत निर्णयका लागि कार्यदल गठन गरेको थियो । 

महासङघ झापाका सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपानेको संयोजकत्वमा पाँच सदस्य कार्यदलको फागुन १ गते बसेको बैठकले ८ बुँदे निर्णय गरेर महासंघ झापामा बुझाएको थियो । कार्यदलको निर्णयलाई महासङघ झापाको बुधवार बसेको बैठकले अनुमोदन गरी प्राप्त निर्णयलाई कार्यान्वयन गर्ने महासङघ झापाले निर्णय गरेको छ ।

यसैबिच ११ औ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाले कनकाई १ स्थित सुस्त मनस्थिति सरोकार समाजका १५ जना अपाङ्ग बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ । उनीहरूलाई महासङघले पाठ्यपुस्तक, शैक्षिक सामाग्री, खेलौना, खाद्यान्न लगायतका बस्तु प्रदान गरेको छ । 

महासंङघ झापाले सुस्त मनस्थिति सरोकार समाजलाई नेपालको राष्ट्रिय झन्डा पनि प्रदान गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंङघ कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्ष जीवन प्रसाद नेपाल, उपसचिव टंक भट्टराई र सदस्य सुरेन्द्र दाहाललाई सम्मान सहित बधाई ज्ञापन गरिएको छ । नगर प्रमुख पोख्रेलले तीनै जनालाई नेपाली ढाका टोपी लगाइदिएर सम्मान गरेका हुन ।

नगर प्रमुख पोख्रेलले स्थानीय तहका व्यवसायीको अधिकार संरक्षण गर्न कनकाई नगरले कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘नगरपालिकाले गर्ने हरेक सहयोग वैधानिक हुन्छ । कानुन भन्दा बाहिर नजाने प्रकृतिको सहयोग गर्न नगरपालिका सधैँ तत्पर छ,’ उनले भने ।

महासङघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासङघका केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेश अध्यक्ष जीवन प्रसाद नेपाल, पूर्व  केन्द्रीय सदस्य फडिन्द्रराज न्यौपाने, सल्लाहका समितिका सदस्य पुष्पराज प्रसाईँ लगायतको सहभागिता थियो । महासंघ झापाका सदस्य दुर्गा प्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचिव चूडामणि घिमिरेले गरेका थिए । 

सम्बन्धित समाचार