२०८३ जेष्ठ ३० गते , शनिबार

बिर्तामोडका उत्कृष्ट कर्मचारी र जग्गादाता सम्मानित

sajilo news
झापा
२०८० माघ २९ गते , सोमबार
बिर्तामोडका उत्कृष्ट कर्मचारी र जग्गादाता सम्मानित

बिर्तामोड नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गादातालाई सम्मान गरेको छ । आइतबार वडा नम्बर ७ स्थित शहीद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगर सभाको चौथो अधिवेशनका अवसरमा उत्कृष्ट कर्मचारी तथा जग्गादातालाई सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुने शिक्षा शाखाका अधिकृत दिनेशप्रसाद आचार्य, वडा नम्बर ९का वडा सचिव सुवासकुमार वि.क र बिर्तामोड नगर अस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र तेलगानीलाई स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दिने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पत्तिलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सम्मानित हुनेहरूलाई प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उप प्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अबिरसहित दोसल्ला औढाएर सम्मान पत्र प्रदान गरे ।

सोही कार्यक्रमका विच सरकारी सेवा निवृत्त भएका बिर्तामोड नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख (अधिकृत स्तर छैटौँ) डिल्ली दाहाललाई बिदाइ गरिएको छ । भद्रपुर नगरपालिका १० निवासी दाहालले २०४४ साल मङ्सिर १४ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । नगर प्रमुख प्रसाईँ र वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले अधिकृत दाहालले बिर्तामोड नगरपालिकामा रहँदा गरेका कार्यहरूको उच्च प्रशंसा गरे । बिदाइ भएका दाहाललाई कार्यक्रमका अतिथि, नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले बिदाईपत्रसहित दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित समाचार