२०८३ जेष्ठ ३० गते , शनिबार

पूर्वाञ्चल क्यान्सर अस्पतालले मनायो 'क्यान्सर दिवस'

sajilo news
झापा
२०८० माघ २२ गते , सोमबार
पूर्वाञ्चल क्यान्सर अस्पतालले मनायो 'क्यान्सर दिवस'

बिर्तामोड । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले विविध कार्यक्रम गरी क्यान्सर दिवस मनाएको छ । अस्पतालले आइतबार (आज) विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सर सम्बन्धी जनचेतना मूलक र्‍याली, साइकल यात्रा र विविध सांस्कृतिक कार्यक्रम गरेर क्यान्सर दिवस मनाएको हो । 

पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी अस्पतालबाट शुरु भएको क्यान्सर सम्बन्धी जनचेतना मूलक र्‍यालीले बिर्तामोडको वान स्टप महलमा पुगेर कोणसभासहित विविध सांस्कृतिक कार्यक्रम गरेको थियो । र्‍यालीमा गोमेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी, प्रहरी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले जनचेतना मूलक प्ले कार्डसहित र्‍यालीमा सहभागिता जनाएका थिए ।   

पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या अत्यधिक बढ्दै गएकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले जनचेतना मूलक कार्यक्रम गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । 

पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. वीरेन्द्रकुमार यादवले क्यान्सरका बिरामी अस्पताल नै ढिलो आउने गरेका कारण पनि उपचार सम्भव नहुने गरेको बताए । उनका अनुसार बिरामी समयमै अस्पताल आएर चेकजाँच गरेर उपचार गरे क्यान्सर रोगलाई जित्न सकिनेछ । उनले पछिल्लो समय महिलाहरूमा पाठेघरको क्यान्सर बढी हुने गरेको बताएका छन् ।  डा. यादवले १४ वर्ष मुनिका बालिकाहरूलाई एचपिभि भ्याक्सिन लगाउन आग्रह गर्दै उक्त भ्याक्सिन लगाए पाठेघरको क्यान्सर रोग नहुने बताएका छन् । 

त्यस्तै अस्पतालले बिर्तामोडमा आज दिउँसो झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूबिच स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जन सम्पर्क अधिकारी गिरीले बताए । स्थानीयतहहरुले भौतिक संरचनामा मात्र ध्यान दिएकाले स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गर्दै उक्त अन्तरक्रिया आयोजना गरिएको बताइएको छ । 

उक्त कार्यक्रम अघि क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा गरिएको थियो । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालबाट शुरु भएको यात्रा माता मन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुङ्गिएको थियो ।

साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरी जानकारी दिए । ‘हेरचाह अन्तर बन्द गर्न सवारी गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा गरिएको हो । १८ किलोमिटर साइकल यात्रामा ५० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार