आदर्श म्यानेजमेन्टका विद्यार्थीलाई पाठेघर क्यान्सर सम्बन्धी अभिमुखीकरण
झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुलाई पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण दिइएको छ ।
आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा र प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्याप्टरको सह–आयोजनामा विद्यार्थीहरुलाई एक दिने पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण दिइएको हो ।
स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रियका कटुवालले विद्यार्थीहरूलाई क्यान्सर बारेको जिज्ञासाको सहजीकरण गरेकी थिइन् । अङ्ग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाउने गरिए अनुसार पाठेघरको क्यान्सर हुनै नदिने विषयमा सहजीकरण गरिएको थियो ।
अधिकतम विकास भएका देशका महिलामा पाठेघरको क्यान्सर धेरै देखिन थालेको कारणले यस्ता कार्यक्रम गर्नु परेको र बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको जानकारी समेत दिएको थियो ।
उक्त कार्यक्रममा कलेजका तीन सय बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरू सेम्भी दाहाल, समीर धमला, मुना सेन्चेरीले पाठेघरको क्यान्सर बारे आ–आफ्नो जिज्ञासा राखेका थिए। किरण बस्नेतले कार्यक्रम व्यवस्थापन गरेको कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए।