२०८१ बैशाख ३ गते , सोमबार

जनसंख्यालाई आधार मान्दा ८१ हजार ७ सय ऋणभार

sajilo news
पत्रपत्रिका
२०८० माघ ९ गते , मंगलबार
जनसंख्यालाई आधार मान्दा ८१ हजार ७ सय ऋणभार

गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । मंसिरसम्म मात्र पनि २३ खर्ब ७१ अर्ब २५ करोड रहेकामा पुससम्म आइपुग्दा ११ अर्बले कर्जा बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब ४५ करोेड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म प्रतिव्यक्ति ऋण हिस्सा ८१ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ आधार मान्दा त्यति पुगेको हो । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ७८ हजार ८ सय ४० रुपैयाँ थियो ।

यद्यपि, यो ऋण सरकारले लिएको हुँदा सर्वसाधारणको टाउकामा भने ऋणको भार पर्दैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले तिर्न बाँकी २३ खर्ब ८४ अर्बमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण हो भने बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ६ महिनामा १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख ऋण प्राप्त भएको छ । कर्जा प्राप्त भएको मध्ये चालू आवमा १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक रूपमा प्राप्त भएको हो भने बाह्य कर्जा ३४ अर्ब २७ करोड ४९ लाख प्राप्त भएको हो ।

गत असार मसान्तसम्ममा ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको थियो भने ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बाह्य ऋण रहेको थियो । ६ महिनाको अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको सावाँबापत ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । सरकारले सावाँ ब्याज तिरेको आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ८५ अर्ब १३ करोड रुपैयाँले बढेको देखिएको छ ।

सरकारले ६ महिनाको अन्तरालमा ५९ अर्ब ३७ करोड १६ लाख आन्तरिक ऋण तिरेको छ भने १८ अर्ब ७ करोड ९८ लाख रुपैयाँ बाह्य ऋण तिरेको छ । बाह्य ऋणको सावाँ भुक्तानीमा १८ अर्ब ७ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड खर्च भएको बताइएको छ ।

पुस मसान्तसम्ममा भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिकतर्फको हिस्सा ५० दशमलव ५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ४९ दशमलव ५ प्रतिशतको रहेको छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार