झापामा ६ जना फरार प्रतिवादी पक्राउ
झापामा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चार जना पशुपक्षीसम्बन्धी र दुई जना लागू औषध मुद्दाका अभियुक्तहरू रहेका छन् । पशुपक्षीसम्बन्धी कसुर मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका-१२ बस्ने २५ वर्षीय सुवास दर्जी,सोही ठाउँका ३२ वर्षीय सुनिल भन्ने दिलीप विश्वकर्मा, ३५ वर्षीय धने भन्ने धनबहादुर तोलाङ्गे र ३१ वर्षीय टार्जन भन्ने पूर्णबहादुर सार्कीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई झापा जिल्ला अदालतको गत असार २८ गतेको फैसला अनुसार जनही १ वर्ष कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नु पर्ने सजाय तोकिएको थियो ।
त्यस्तै लागू औषध मुद्दामा सजाय तोकी फरार रहेका ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-१ घर भई हाल दमक नगरपालिका-१ बस्ने २३ वर्षीय कमल घिमिरे र सोही ठेगाना भएकी २० वर्षीया रेणुका घिमिरेलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनीहरूलाई झापा जिल्ला अदालतको मङ्सिर १८ गतेको फैसला अनुसार लागू औषध मुद्दामा जनही १० महिना कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो । पक्राउ परेका ६ जनालाई नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।