२०८३ बैशाख १९ गते , शनिबार

पत्रकार बराललाई सहकारी पत्रकारिता पुरस्कार

sajilo news
झापा
२०८० पौष १ गते , आईतबार
पत्रकार बराललाई  सहकारी पत्रकारिता पुरस्कार

मेचीनगर । मेचीनगर– ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आज सम्पन्न आठौँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो ।

२०५९ सालदेखि विवेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लब मेचीनगरका अध्यक्ष समेत हुन । उनले यस अघि लामो समय जन संसद् दैनिकमा सह सम्पादक र लोकतन्त्र पोस्टमा कार्यकारी सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् । 

मेचीनगर – ८ स्थित किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा सम्पन्न साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेका छ । यसरी सम्मानित हुनेहरूमा उत्कृष्ट बचत कर्ता तर्फ कमला कुमारी राजवंशी र उत्कृष्ट ऋणी तर्फ ।गीता राजवंशी हेका छन् । सम्मानित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान गरेका थिए । 

सहकारी संस्थाका अध्यक्ष गीता राजवंशीको सभापतित्व तथा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले सहकारी र सदस्यको दिगो विकासको लागि एक सहकारी एक सदस्य अभियानलाई प्राथमिकता दिएर कार्यान्वयन गर्नू पर्ने बताए । सहकारीलाई समृद्ध र सुशासन युक्त बनाउन सदस्यहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, अध्यक्ष ओलीले भने, ‘तपाईँहरू एउटै सहकारीमा बचत तथा ऋणको कारोबार गर्नुहोस्, जसको कारण सहकारीको शेयर वृद्धि र कारोबार बृहत् हुन्छ अनि सहकारी आर्थिक रुपमा मजबुत बन्छ ।’ उनले सहकारीमा आबद्ध सदस्यहरूको जीवनमा समृद्धि ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न सञ्चालक समितिलाई आग्रह समेत गरे । 

कार्यक्रममा ज्येष्ठ नागरिक समिति मेचीनगर –७ का अध्यक्ष पीताम्बर शर्मा, सम्मानित व्यक्तित्व प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  सो अवसरमा मेचीनगर सञ्चार प्रतिष्ठानका सचिव प्रकाश पौडेल, अनुप राजवंशी, ओम प्रकाश झा, मीरा राजवंशी, दुर्गादेवी कार्की लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन सहकारी संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए ।  सहकारी संस्थाले विभिन्न समयमा सदस्य लक्षित कार्यक्रम गर्दै आएको छ । यस अघि सहकारीले निःशुल्क आँखा परीक्षण शिविर, स्वास्थ्य शिविर लगायत सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको सहकारी संस्थाका व्यवस्थापक दुलव मेचेले जानकारी दिए ।   सहकारी संस्थाका सचिव कमल ढुङ्गेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।

सम्बन्धित समाचार