इलाममा पहिचान पक्षधरद्वारा पिकअप गाडीमा आगजनी
पहिचान पक्षधर बन्दकर्ताहरुले मेची राजमार्गमा एउटा पिकअप गाडीमा आगजनी गरेका छन् । रोङ गाउँपालिकास्थित किटानीमा पराल बोकेको एउटा पिकअपमा बन्दकर्ताहरुले दिउँसो ३ बजेतिर आगजनी गरेका हुन् । आगजनीबाट मे १ ज ११४० नम्बरको पिकअप जलेर नष्ट भएको छ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा पाँचथर जानेहरूलाई मात्र प्रहरी स्कर्टिङ गरेको र आफुहरुलाई सुरक्षा नदिएको भन्दै पिकअप सञ्चालकहरूले सडकमा चक्काजाम गरेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । चक्काजाम साँझ खुलेपनि सवारीसाधनहरू लामबद्ध जाम परेको जनाइएको छ ।
एमालेका अध्यक्ष ओलीको कार्यक्रममा सहभागी हुन पाँचथरतर्फ जानेहरूलाई बन्द आव्हान गरेका पहिचानवादीहरूले अवरोध गर्ने प्रयास गरेका थिए । कोशी प्रदेशभरि आज र भोलि प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले यातायात बन्दको आव्हान गरेको हो । प्रहरीले बन्दलाई असफल बनाउन मेची राजमार्गमा स्कर्टिङ गरेको थियो । एमालेको सङ्कल्प यात्रा आज पाँचथर पुगेको छ। त्यसक्रममा पाँचथरको फिदिममा आमसभा आयोजना गरिएको थियो । सङ्कल्प यात्रामा अवरोध गर्ने ३५ जना पहिचानवादी विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । उनीहरूलाई रिहाइका लागि दबाब दिन प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले यातायात बन्दको आव्हान गरेको हो ।
उता पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण खोटाङमा आज बिहानैदेखि यातायात ठप्प भएको छ । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा अवरोधका क्रममा पक्राउ परेकालाई निशर्त रिहाइको माग गर्दै पहिचान पक्षधरले सडकमा प्रदर्शन गरेका हुन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसीलगायतका क्षेत्रमा बन्दकर्ताले बसेर यातायात बन्द गराएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने प्रहरीको निगरानीमा यातायात सञ्चालन गरिरहेको बताएका छन् । खोटाङबाट पूर्व संस्कृति मन्त्री गोपाल किराँतीलगायत पाँच जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।