२०८३ बैशाख १९ गते , शनिबार

पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

sajilo news
झापा
२०८० मंसीर २८ गते , विहीबार
पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्दामा अनुसन्धान बढाइएको हो । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरूको समूहले ढुङ्गा प्रहार गरेको थियो ।

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको डीएसपी रिजालले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाले हिजो निमित्त प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपाललाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका चौधरीलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ । समितिका सहसंयोजक राजा आङथुपो लिम्बूको नेतृत्वमा गएको पहिचानवादीहरूको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा २४ घण्टाभित्र बिनाशर्त रिहाइ नगरे आन्दोलनलाई चरणबद्ध रुपमा सशक्त अघि बढाउने चेतावनी दिइएको छ ।

सम्बन्धित समाचार