२०८३ बैशाख १९ गते , शनिबार

'मुलुक यही अवस्थामा रहे नागरिकहरू विद्रोहमा उत्रन सक्छ'

sajilo news
झापा
२०८० मंसीर २६ गते , मंगलबार
'मुलुक यही अवस्थामा रहे नागरिकहरू विद्रोहमा उत्रन सक्छ'

बिर्तामोड। मुलुक यही अवस्थामा रहे नागरिकहरू विद्रोहमा उत्रन सक्ने सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले औँल्याएका छन् । नागरिकमा बढ्दो निराशा, आक्रोश, मुलुकको बेथिति समयमै हल नगरे कुनै न कुनै स्वरूपको विद्रोह जन्मने नागरिक समाजका प्रतिनिधिहरूले बताएका हुन् ।

समस्या समाधानका लागि राजनीतिक दलहरू तत्काल सच्चिएर जबाफदेही बन्नुपर्नेमा उनीहरूको जोड छ । ‘मुलुकको समसामयिक परिस्थिति र निकासको बाटो’ विषयमा संवाद समूह झापाले बिर्तामोडमा गरेको छलफलमा नागरिक समाजका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन आयोगका पूर्व सदस्य लीला उदासीले मुलुक दयनीय र अप्ठेरो अवस्थामा रहेको, जनता निराश र अनिश्चयमा रहेको बताए । बेथिति बढ्दै गए विद्रोह जन्मने उदासीले बताए । उनले दलहरू सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा। रूपक खनालले मुलुकमा भ्रष्टाचार, कुशासन र दण्डहीनता बढेकाले अहिलेको अवस्था आएको बताए । लोकतन्त्रमाथि दलहरूबाटै खतरा रहेको भन्दै दलप्रतिको वितृष्णा मेट्न र मुलुकलाई निकास दिन केही समय विज्ञहरूको टिमलाई मुलुक चलाउन दिनुपर्ने धारणा राखे ।

मानव अधिकार रक्षक परिषद्का प्रदेश उपाध्यक्ष विष्णु खरेलले नागरिकमा असन्तुष्टि, आक्रोश, अन्योलताले अराजकता थपिएको बताए । अहिले बैंकका प्रबन्धकहरू असुरक्षित रहेको, विकृति बढेको उनले बताए । खरेलले पहिचानको आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे अरू आन्दोलन चर्किने र असन्तुष्ट, अराजक पक्षको घुसपैठ हुने सम्भावना औँल्याए । उनले विधि, संविधानप्रति सबै जबाफदेही बन्नुपर्ने बताए ।

गैरसरकारी संस्था महासंघ झापाका सचिव विजय तिम्सिनाले दलहरूले नागरिकमा विश्वास जगाउन सक्नुपर्ने, बिदेसिएको श्रम शक्तिलाई स्वदेशमै रोकेर उत्पादनमा जोड दिनुपर्ने बताए । उनले अहिलेको अवस्थामा नागरिक समाजले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले दलीय गठबन्धन नै बेथितिको कारण रहेको उल्लेख गर्दै अब आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताए । प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले मुलुक संकट उन्मुख भएको, क्याम्पसहरू बन्द हुन थालेको बताए । पाठकले अहिलेको अवस्था दलहरूप्रतिको निराशाको उपज भएको बताउँदै विधिको शासन कायम गर्नुपर्ने बताए ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तोयानाथ दाहालले दलहरूले जनअपेक्षा पूरा नगर्दा अहिलेको अवस्था भोग्नुपरेको भन्दै दलहरूबिच एकता र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आर्थिक संकट झन् गहिरिएको व्यवसायीको अवस्था धराशायी भएको भन्दै यस्तै अवस्था रहे उद्योगी व्यवसायी विद्रोहको मनस्थितिमा रहेको बताए । संयुक्त आवाजकी अध्यक्ष शिखा खड्का गणेशले यस्तै बेथिति बढ्दै गए राजतन्त्र फर्कन सक्ने बताइन् । सरकार, दलहरू सबै पक्ष मुलुकलाई अहिलेको सङ्कटबाट निकास दिन जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड थियो । 

सम्बन्धित समाचार