पत्रकार सापकोटा सम्मानित
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन शिवसताक्षी झापाले खोज तथा अनुसन्धान र भ्रष्टाचार विरुद्ध निरन्तर कलम चलाउने झापाका एक जना पत्रकारलाई सम्मान गरेको छ । यस्तै लामो समय शिक्षा क्षेत्रमा सक्रिय अर्का एक शिक्षकलाई पनि सम्मान गरेको छ ।
शिवसताक्षी नगरको व्याँङ्गडाडा स्थित चेतना माध्यमिक विद्यालयको प्राङगडमा सोमबार देखि सुरु अन्तर संस्थागत विद्यालय स्तरीय सांस्कृतिक प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा दुई प्रतिभालाई शिवसताक्षी नगर प्याव्सनले सम्मान गरेको प्याव्सन झापाले जनाएको छ । हाल प्रतिदिन दैनिकमा कार्यरत पत्रकार विनोद सापकोटा र ध्रुव तारा आवासीय मावि दुधेका संस्थापक प्रिन्सिपल डम्बरबहादुर खड्कालाई प्याव्सन शिवसताक्षीले सम्मान गरेको हो ।
शिवसताक्षी नगरका नगर प्रमुख मेघाहाङ थोप्राले पत्रकार सापकोटा र निजी विद्यालयका शिक्षक खड्कालाई सम्मान गरेका हुन् । सापकोटा तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् भने शिक्षक खड्का पनि ३ दशकदेखि नै शिक्षा क्षेत्रमा अनवरत रुपमा क्रियाशील छन् । नगर प्रमुख थोप्रा, प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङ र प्याव्सन पदाधिकारीले दुई जनै प्रतिभालाई दोसल्ला, सम्मान पत्र र फुलमाला अविरले सम्मान गरेका थिए ।
यसै विच जिल्ला प्याव्सनको समन्वयमा शिवसताक्षी नगर प्याव्सनले आयोजना गरेको अन्तर निजी विद्यालय स्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम अन्तरगत सांस्कृतिक नृत्य तर्फ शिवगञ्जको दीक्षान्त प्रथम, शिवगञ्जै नवकिरण दोस्रो र क्याब्रिज तेस्रो भएका छन् ।
यस्तै राष्ट्रिय गीतमा नृत्यमा सगरमाथा पहिलो, ध्रुव तारा दोस्रो र निम्बस बोर्डिङ स्कुल तेस्रो भएका छन् । कक्षा ११ र १२ को एक मात्र सहभागी धु्रवताराले सो विधामा उपाधि उचालेको छ ।
यस्तै सिजिय गायन तर्फ निम्बस, ध्रु्वतारा र मेची बोर्डिङ स्कुल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । जुनिय गायन तर्फ धरमपुर प्रज्ञा पाठशाला, क्याम्ब्रिज र रेडरोज पहिलो, दोस्रो र तेस्रो भएका छन् । शिवसताक्षीबाट छनौट भएका हरेक विधाका पहिलोले पुस २ र ३ गते दमकमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।
प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष उदय प्रकाश राईले स्वागत गरेका थिए भने प्याव्सनका सदस्य चन्द्र मादेम्बाले सहजीकरण गरेका थिए ।