झापाका सीमावासीसँग सशस्त्र प्रहरीको अन्तरक्रिया
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले झापाको सीमावर्ती क्षेत्रका बासिन्दाहरूसँग अन्तरक्रिया गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, सशस्त्र प्रहरी बल नेपालप्रति स्थानीय जनताको अपेक्षा, सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिका, निरन्तर समन्वय, पारस्परिक सहयोग, सूचना आदान–प्रदान र स्वास्थ्य शिविर तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमलगायतका विषयमा सीमावासीहरूसँग छलफल गरेको हो ।
“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमको अवधारणा अनुसार सोमबार भद्रपुर ८ स्थित गणमा सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा स्थानीयवासीसँगै नेपाल–भारत सीमासँग जोडिएका सीमावर्ती वडाका १४ जना वडा अध्यक्ष तथा वडा सदस्यहरूको सहभागिता रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।