२०८३ बैशाख १९ गते , शनिबार

कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारलाई दबाब दिने निर्णय

sajilo news
झापा
२०८० मंसीर २५ गते , सोमबार
कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारलाई दबाब दिने निर्णय

मोरङ । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई वर्गीकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पुर्‍याउन सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

नेपाल किसान महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कृषिजन्य सबै उत्पादनको समय सापेक्ष समर्थन मूल्य निर्धारण गरी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारलाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासङ्घका प्रदेश सहसचिव केदारमान पौडेलले जानकारी दिए ।

बैठकले नेपाल भारत खुल्ला सीमाबाट अवैध रुपमा हुने कृषि उपजको ओसार पसार बन्द गरी विदेशी कृषि उत्पादन आयात गर्दा परीक्षण गरेर मात्र आयात गर्न विश्वासिलो सरकारी संयन्त्र निर्माण गर्न माग गरेको छ । यसैगरी रासायनिक मल खाँद् अभावको स्थायी समाधानका लागि पशुपालनमा अनुदान, अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन र प्रदेशमा रासायनिक मल कारखानाको स्थापना गर्न सरकारलाई दबाब दिने निर्णय बैठकले गरेको महासंघ कोशी प्रदेशले जनाएको छ ।

बैठकले कृषि ज्ञान केन्द्रलाई किसान सहयोग केन्द्रको रुपमा रूपान्तरण बिस्तार तथा व्यवस्थापन गरी यथेष्ट रुपमा सहज र सुलभ कृषि प्राविधिक सहयोगको सुनिश्चितता कायम गराउन पनि माग गरेको छ ।  भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबास गर्ने सबैलाई अविलम्ब जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न समेत दबाब दिने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकमा कृषिमा युवा कार्यक्रम सञ्चालन गरी उत्पादनमुखी र आत्मनिर्भर कृषि उत्पादनमा जोड दिन पनि बैठकले माग गरेको छ । नगदे बाली जस्तै चिया कफी, अलैँची, सुपारी जडीबुटीहरू तथा अन्य कृषि उत्पादनहरू बिक्रीको लागि किसानहरूलाई स्वायत्तता प्रदान गर्न माग गर्दै बैठकले  उत्पादक किसान र ठुला व्यापारी बीचको कारोबार गर्ने बिचौलियाहरूले लिने नाफा मार्जिनमा सरकारले नियन्त्रण गर्न माग गर्ने निर्णय गरेको अध्यक्ष भट्टराई ले जानकारी दिए ।

राष्ट्रिय भू उपयोग नीति वैज्ञानिक तथा आधुनिक ढङ्गले नियन्त्रण गर्ने कार्य योजना बनाउन समेत सरकारलाई अनुरोध गर्ने निर्णयहरू गरेको महासंघ मोरङ जिल्ला अध्यक्ष वसन्त हुमागाईँले बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कोशी प्रदेशस्तरीय पूर्ण बैठकमा विशिष्ट अतिथि नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्यहरू केशव भट्टराई र डम्बर कार्की, वरिष्ठ कृषि वैज्ञानिक हिमाल तिम्सिना, कृषि तथा भूमिसुधार प्रदेश विभाग प्रमुख अञ्जना राई लगायतको उपस्थिति रहेको कोशी प्रदेश सदस्य गणेश गौतमले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै विभाग प्रमुख राईले नेपालमा कृषिको अवस्था र भावी रणनीतिका विषयमा प्रकाश पारेकी थिइन । त्यसैगरी कृषि वैज्ञानिक हिमाल तिम्सिनाले किसानहरूलाई जस्तासुकै सहयोग गर्न तैयार रहेको बताएका थिए ।

नेपाल किसान महासंघ कोशी प्रदेश सचिव भविन खड्काले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष भगीरथ शर्मा सुवेदीले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार