२०८३ बैशाख १९ गते , शनिबार

शिक्षासेवी ओलीले बुवा-आमाको सम्झनालाई कृतिमा समेटे 

sajilo news
झापा
२०८० मंसीर २४ गते , आईतबार
शिक्षासेवी ओलीले बुवा-आमाको सम्झनालाई कृतिमा समेटे 

बिर्तामोड । आफ्ना बुवा आमाले निर्वाह गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइराख्नका लागि शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् ।  ‘हाम्रा अनुभूतिहरू’ नामक संस्मरण कृतिको आज बिर्तामोडमा सामूहिक लोकार्पण गरिएको छ । 

बिर्तामोड-५ स्थित ज्येष्ठ नागरिक भवनमा  आयोजित लोकार्पण कार्यक्रममा दिवङ्गत आफ्ना बुवा आमाप्रति श्रद्धाका भावहरू व्यक्त गर्दै तयार गरिएको सो कृति स्मरणीय र पूजनीय रहेको सहभागी वक्ताहरूले बताएका छन् ।  १३६ पृष्ठको सो कृतिमा मोहन ओलीका हजुरबुवाका बुवा लप्टन रामचन्द्र ओली ,हजुरबुवा लप्टन हरिप्रसाद ओली , बुवा विनोदकुमार ओली , आमाहरू भद्रशीला ओली र  खीनाकुमारी ओलीलाई  मुख्य पात्रको रुपमा चित्रित गरिएको छ ।

उनीहरूकै  जीवनी, योगदान र भोगाइलाई कृतिमा उतारिएको छ ।कृतिमा  आठराईका ओली वंशका शीर्ष व्यक्तित्व रामचन्द्र ओली,  लप्टन हरिप्रसाद ओली एक व्यक्तित्व र चिनारी, म, मेरी आमा र उनका अनुभूतिहरू, आमा भद्रशीला ओलीको सम्झनामा, मेरी आमा, बुबा र आमाप्रति श्रद्धा सुमन, पौरखी आमा ! परिश्रमी आमा ! मेरी आमा त भगवान् नै हो , आमासँग बिताएका मिठा क्षणहरू, ममताकी प्रतिमूर्ति ,सानो आमासँगको मेरो साक्षात्कार, भोगाइ र श्रद्धा सुमन, वैकुण्ठवासी बुबा विनोदकुमारप्रति हार्दिक श्रद्धा सुमन, शिक्षासेवी–काइँला बा  , हजुरबुवा हजुरआमालाई सम्झँदा, त्यो बाइ–बाइ नै अन्तिम रहेछ , बुबा ! भावपूर्ण श्रद्धाञ्जली , विनोद ओली: अनौठो परमपदप्राप्ति शीर्षकमा  विभिन्न लेखकहरूले संस्मरण लेखेका छन् ।

ओली वंश समन्वय समितिका संरक्षक सरोजकुमार ओलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख  नगेन्द्रप्रसाद सङ्ग्रौलाको  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि सङ्ग्रौला,  संविधानसभा  सदस्य भक्त खपांगी , पूर्व सांसद हरिचरण शिवाकोटी ,  बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी ,नेपाली काँग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईँ, ओली वंश केन्द्रीय समन्वय समितिका अध्यक्ष  उमेशचन्द्र ओली ,रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली , वरिष्ठ साहित्यकार तथा वनिता पत्रिकाकी सम्पादक  लक्ष्मी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्र  विनोद खीनाप्रति समर्पित हाम्रा अनुभूतिहरू संस्मरण कृतिमाथि हरिनारायण भट्टराईले समीक्षा गरेका थिए भने स्वागत मन्तव्य राख्दै सम्पादक मोहनप्रसाद ओलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन  मुना काफ्ले पौडेलले गरेकी थिइन् ।   

    

सम्बन्धित समाचार