२०८३ बैशाख १९ गते , शनिबार
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना नेपाली नागरिक पक्राउ परेका छन्। सुनसहित गोरखा बारपाक घर भएका चन्द्र घले र धुमबराही बस्ने मीन घले पक्राउ परेका हुन्।
फ्लाइ दुबईको एफजेड ५७३बाट बिहीबार राती ११:५६ मा काठमाडौँ आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ राखी लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको डिआइजी अर्जुनचन्द ठकुरीले जानकारी दिए।
चन्द्र घलेसँग सोधपुछ गरी सुन धुमबराही बस्ने मीन घलेको भन्ने जानकारी पश्चात् मीन घलेलाई पनि पक्राउ गरिएको हो। अहिले दुई जनालाई नै नियन्त्रणमा लिएर भन्सारले अनुसन्धान गरिरहेको डिआइजी ठकुरीले बताए।