'गरिबीका कारण मानव बेचबिखनका घटना नियन्त्रणमा आउन सकेन'
झापा । गरिबी र परिवारमा ऋणको बोझका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणमा आउन नसकेको सरोकारवालाहरूले बताएका छन् ।
महिला, कानुन र विकाश मञ्चको आयोजना तथा अष्ट्रेलियान फउण्डेशनको संयोजनमा बिहीबार भद्रपुर नगरपालिकासँग मानव बेचबिखन तथा ओसारपसार पीडितका लागि पुनर्स्थापना केन्द्र र कोष सम्बन्धी स्थानीय कानुन विषयक छलफल कार्यक्रम सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
आर्थिक प्रलोभन देखाएर विदेश पठाउने भन्दै भारतका विभिन्न शहरमा लगेर नेपाली चेलीहरूलाई बेचबिखन गर्ने घटनाहरू दिनप्रतिदिन भयावह बन्दै गएकोप्रति सरोकारावालाहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
बेचिन पुगेका किशोरी, युवती र महिलाहरूलाई सीमा नाकाबाट उद्धार गरी घर पुर्याएपनि फेरि गरिबी कारण उनीहरू त्यही बाटोबाटै बेचिन पुगिछिन् । उद्धार गरिएकाहरूका लागि स्थानीय स्तरमै पुनर्स्थापना केन्द्र स्थापना नहुँदा चुनौती थपिँदै गएको सहभागीहरू बताउँछन् ।
कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले मानव अपराध नियन्त्रणमा अस्ट्रेलियाले विश्वका विभिन्न देशहरूसँग समन्वयन गरी यसको रोकथाम तथा न्यूनीकरणमा काम गरिरहेको बताइन् ।
मानव बेचबिखन घटना रोकथामका लागि समुदाय स्तर सम्म जनचेतना फैलाउनु पर्ने उनले जोड दिइन् । नेपालमा भइरहेका यस्ता घटनाहरू रोक्न अस्ट्रेलिया सरकारले सहजिकरण गरिरहेको उनको भनाई छ ।
त्यस्तै भद्रपुर नगर प्रमुख गणेश पोखरेलले खुला सीमाका कारण मानव बेचबिखन घटना रोकथाममा चुनौती थपिँदै गएको जिकिर गरे । यसको रोकथामका लागि नगरपालिकाले सरोकारवाला संघसंगठनहरुको सहकार्यमा विभिन्न जनचेतना मूलक कार्यहरू गर्दै आएको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘यसले मात्र पर्याप्त हुँदै सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राज्यले पनि यसमा ध्यान दिनुपर्छ ।’ त्यस्तै कार्यक्रम मञ्चकी सदस्य तथा अधिवक्ता चन्द्रमाया श्रेष्ठले
मानव बेचबिखन रोकथामका लागि स्थानीय ऐनमा गर्नुपर्ने कानुनी सुधारका बारेमा जानकारी गराएकी थिइन् । नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले मानव बेचबिखनविरुद्ध नगरपालिकाले अहिले सम्म गरेका गतिविधिका बारेमा प्रकाश पारेकी थिइन् । कानुन व्यवसायी तथा मञ्चकी कोशी प्रदेश संयोजक देवी निरौला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा एबीसी नेपालका कञ्चना ढकाल, सानाहातहरु नेपालका विक्रम वाग्ले, वडाध्यक्ष टेकबहादुर खड्का काजी, शर्मिला अधिकारी, भीमा शिवाकोटी, कुन्जना रुचाल, शर्मिला अधिकारी, अनिता रिजाल सितादेवी ढकाल लगायतले मानव बेचबिखन रोक्न कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।
नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रीति थापाले राखेकी थिइन्, भने कार्यक्रमको औचित्यमाथि कानुन व्यवसायी सविन श्रेष्ठले प्रकाश पारेका थिए ।