२०८३ बैशाख १९ गते , शनिबार

झापामा जातीय विभेद गरेको आरोपमा दुई महिला पक्राउ

sajilo news
झापा
२०८० मंसीर २१ गते , विहीबार
झापामा जातीय विभेद गरेको आरोपमा दुई महिला पक्राउ

मेचीनगर । जातीय विभेद गरेको आरोपमा झापा प्रहरीले दुई जनालाई करिब दुई महिनापछि मेचीनगरबाट पक्राउ गरेको छ । मेचीनगर–१० बस्ने ३६ वर्षीया रञ्जु विश्वकर्मा कडरियालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले छिमेकी ४७ वर्षीया मैया दाहाल र ४९ वर्षीया सीता दाहाललाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरूले जातीय भेदभावसहित अपमान गरेको भन्दै विश्वकर्माले गत असोज २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन् ।

विश्वकर्माले दिएको जाहेरी अनुसार छिमेकी सीता दाहालको घरबाट दूध किनेर खान थालेको दुई दिनपछि गत असोज २२ गते अचानक उनलाई दूध दिन छाडिएको थियो । विश्वकर्माले ‘मलाई दूध दिन किन छाड्नु भको ?’ भनी सोध्दा दाहालले ‘तँ दलितलाई दूध दिन थालेपछि मेरो गाई बिरामी भई दूध दिन छाडेको र परिवारका सदस्यहरूमा पनि रगत छाद्ने रोग देखा परेको’ भन्दै आइन्दा दूध लिन नआउनु भनेकी थिइन् ।

मैया दाहालले समेत ‘दलितलाई दूध दिँदैनौँ, कहाँ गएर के गर्नुपर्छ गरेर देखा’ भनेकी थिइन् ।
छिमेकीबाटै जातीय विभेद र अपमान भोगेपछि उनले असोज २४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी दिनुअघि उनलाई स्थानीयवासी र जनप्रतिनिधिहरूले ‘मिल्न’ दबाब दिएका थिए । तर, उनले जातीय विभेद गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी थिइन् । उनले जाहेरी दिएको लामो समयसम्म स्थानीय र केही जनप्रतिनिधिले ‘सद्भाव बिथोलिने’ भन्दै जाहेरी फिर्ता लिन दबाब दिएको बताएकी छन् ।

प्रहरीले असोज २४ मै दाहालद्वयमाथि जातीय विभेदविरुद्ध मुद्दा दर्ता भएको दाबी गरेपनि उनीहरूलाई पक्राउ गर्न भने करिब दुई महिना लगाएको थियो ।

सम्बन्धित समाचार