२०८३ बैशाख १९ गते , शनिबार

जैविक विविधता संरक्षणमा भद्रपुर नगरपालिका 

sajilo news
झापा
२०८० मंसीर २० गते , बुधबार
जैविक विविधता संरक्षणमा भद्रपुर नगरपालिका 

भद्रपुर । जलथल जंगलको जैविक विविधता कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल उत्पादन र बेसार खेतीका लागि भद्रपुर नगरपालिकाले सहकार्य गर्ने भएको छ ।  भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरूसँग वनको दिगो पुनर्स्थापना र जैविक विविधता संरक्षणका लागि नगरपालिकाले सहकार्य गर्ने भएको हो ।

भद्रपुर नगरपालिकाभित्र   विभिन्न सात वटा सामुदायिक वन रहेका छन् ।  दशरथपुर ,दियालो , विशाल ,  कमलधाप , मायालु , कालीमन्दिर र  चन्द्रगढी  सामुदायिक वन रहेका छन् । ती वनहरूले करिब साढे ११ हेक्टर क्षेत्रफल  ओगटेका छन् ।फरेष्टएक्सन नेपालको सहयोगमा विगत ४ वर्षदेखि जलथल जंगलमा जैविक विविधता व्यवस्थापन कार्यक्रम सञ्चालित छ । त्यस कार्यक्रमअन्तर्गत  वन समितिहरूले मिचाहा प्रजाति नष्ट गरी त्यसबाट प्राङ्गारिक मल उत्पादन  गर्दै आएका छन् । बायो प्रोडक्टको रुपमा रहेको प्राङ्गारिक मल  उत्पादनले स्थानीय उपभोक्ताहरूलाई रोजगार मिल्नुका साथै आयआर्जनमा टेवा पुगेको छ ।  त्योसँगै अर्ग्यानिक खेतीलाई प्रोत्साहनसँगै माटो सुधार भएको छ ।

यसरी धेरै प्रकारले फाइदा पुग्ने प्राङ्गारिक मल उत्पादन कार्यक्रमप्रति नगरपालिका उत्साहित देखिएको हो ।  दियालो वनमा सञ्चालित प्राङ्गारिक मल उत्पादन कार्यक्रमको नगरपालिकाको टिमले मंगलवार अवलोकन  गरेको हो । त्यसक्रममा नगर प्रमुख गणेश पोखरेलले वनको दिगो पुनर्स्थापना र जैविक विविधता संरक्षणका लागि  नगरपालिकाले कार्य योजना बनाएर अघि बढ्ने बताए । उनले केही दिनभित्र नगरपालिकामा बैठक बसेर छलफल गर्ने र  मिचाहा प्रजाति फाँडेर जंगललाई  नयाँपन दिने अत्यन्त सान्दर्भिक सो कामको लागि कार्य योजना बनाएर  अघि बढ्ने जानकारी दिए ।

नगर प्रमुख पोखरेलसँगै प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वातावरण अधिकृत नेत्र पोखरेललगायतको नगरपालिकाको टीम अवलोकनका लागि गएको थियो । सोही अवलोकनमा डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई पनि सहभागी थिए । उनले  जैविक विविधताले भरिपूर्ण जलथल जंगलको संरक्षणमा जोड दिए ।  उनले मिचाहा प्रजातिलाई नियन्त्रण गरी वन पुनरुत्पादनमा सबै लाग्नुपर्ने बताए । सामुदायिक वनहरूले मिचाहा प्रजाति मास्नकै लागि गरिरहेको बेसार खेतीलाई अल्पकालीन रुपमा प्रोत्साहन गर्ने कुरामा पनि नगरपालिकाको टीम सकारात्मक देखिएको छ ।

मसलाजन्य खेतीका लागि छुट्याएको बजेटबाट बेसार खेतीलाई सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले बताए । विशाल , दियालो र दशरथपुर वनले बेसार खेती लगाएका छन् । कार्यक्रममा फरेष्टएक्सन नेपालका लीलानाथ शर्माले वनको जैविक विविधता संरक्षणमा भइरहेको प्रयासका बारेमा जानकारी दिँदै  स्थानीय सरकारको सहकार्य आवश्यक भएको बताएका थिए । कार्यक्रममा दियालो सामुदायिक वनका अध्यक्ष देउकुमार राईले प्राङ्गारिक मलको उत्पादन र त्यसको फाइदाबारे जानकारी दिएका थिए ।                

 

सम्बन्धित समाचार