गौरीगञ्जका स्वयंसेविकालाई साइकल वितरण
बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।गाउँपालिकाले नीति कार्यक्रममै स्वयंसेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा बमोजिम ४० जना स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।
गाउँपालिकाभित्र कार्यरत सबै स्वयंसेविकाहरुलाई एक-एक थान साइकल वितरण गरिएको उनको भनाई छ । यसैगरी गाउँपालिकाले ०७९ का उत्कृष्ट तीन जना स्वयंसेविकालाई पुरस्कृत समेत गरेको छ । उत्कृष्ट स्वयंसेविका गीता राई (वडा नं. १), हिमा ताजपुरिया (वडा नं. ४) र गायत्री अधिकारी (वडा नं. ६) लाई दोसल्ला ओडाई मायाको चिनो सहित पुरस्कृत गरिएको छ ।
स्वयंसेविकाहरुको प्रोत्साहनका लागि पुरस्कृत गर्दै साइकल वितरण गरिएको गाउँपालिका उपप्रमुख पूजन न्यौपाने कुँवरले जानकारी दिइन् । उनले गाउँघरमा स्वास्थ्य सेवामा स्वयंसेविकाहरुको महत्त्वपूर्ण योगदान रहेको बताइन् ।