२०८३ असार ११ गते , विहीबार

रुसी सेनामा गएका ६ जना नेपाली युक्रेनसँगको लडाइँमा मारिए

sajilo news
झापा
२०८० मंसीर १८ गते , सोमबार
रुसी सेनामा गएका ६ जना नेपाली युक्रेनसँगको लडाइँमा मारिए

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो।  परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको छ।मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया‚ वाणगंगा-१, कपिलवस्तुका रूपक कार्की‚ पोखराका देवान राई‚पुतलीबजार-५, स्याङ्जाका पितम कार्की‚ मेलुङ्ग-६, दोलखाका राजकुमार रोका र इलाम-५, इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ। 

सरकारले रुसी सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ।  विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको पनि मन्त्रालयले स्पष्ट गरेको छ। 

‘यस सम्बन्धमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’ मन्त्रलायले विज्ञप्तिमा उल्लेख छ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने  नो अब्जेक्सन लेटर (एनओसी) लिएर मात्र यात्रा गर्न पनि मन्त्रालयले अपिल गरेको छ।

‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुन: हार्दिक अनुरोध गर्दछ।’  विज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित समाचार