२०८३ असार ११ गते , विहीबार

कमल गाउँपालिकाका विद्यालयभित्र राजनीतिक कार्यक्रम गर्न रोक

sajilo news
झापा
२०८० मंसीर १८ गते , सोमबार
कमल गाउँपालिकाका विद्यालयभित्र राजनीतिक कार्यक्रम गर्न रोक

झापाको कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा राजनीतिक दलसंग सम्बन्धित कार्यक्रमहरू गर्न रोक लगाएको छ ।पालिकाको शिक्षा समितिको बैठकले विद्यालय हाता भित्र राजनीतिक दलका गतिविधिमा निषेध लगायत विभिन्न शैक्षिक विषयमा छ बुँदे निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार निर्माण तथा मर्मततर्फ सिसी क्यामेरा जडान, सबै विद्यालयमा एकैखालको रङरोगन,शौचालय निर्माण तथा मर्मत,छानो मर्मत तथा कक्षा कोठा मर्मत लगायतको लागि विनियोजन भएको बजेट प्राथमिकरण गरी प्राविधिक लागत अनुमान प्रतिवेदन पेस गर्ने , विद्यालयको बिद्युत् तथा खानेपानीको सामान्य मर्मत गर्न लाग्ने खर्चलाई मितव्यायी बनाउन विद्यालय कर्मचारीहरूलाई आधारभूत तालिम दिने उल्लेख छ ।

यसैगरि, आधारभूत तह र माध्यमिक तहका लागि दुईजना घुम्ती नृत्य प्रशिक्षकको छनौट गर्ने, मदन आश्रित क्याम्पसका लागि शिक्षक व्यवस्थापन अनुदान निरन्तरता दिन कार्यपालिकालाई अनुरोध गर्ने र निजी विद्यालयहरूमा अध्यापन गर्ने शिक्षकहरूलाई पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको उल्लेख छ । यसअघि गत वैशाखमा काठमाडौँ महानगरले महानगर भित्रका विद्यालयमा राजनीतिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाउँदै सो निर्देशन पालना नगर्ने नगराउनेमाथि कारबाईको निर्देशन समेत दिएको थियो ।

सम्बन्धित समाचार