२०८३ असार ११ गते , विहीबार

अपाङ्गता दिवसको अवसरमा भद्रपुरमा आवासीय पुनर्स्थापना केन्द्रको शिलान्यास

sajilo news
झापा
२०८० मंसीर १८ गते , सोमबार
अपाङ्गता दिवसको अवसरमा भद्रपुरमा आवासीय पुनर्स्थापना केन्द्रको शिलान्यास

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र अपाङ्गता समन्वय समिति भद्रपुरका अध्यक्ष धनजुजु श्रेष्ठको सभापतित्वमा भद्रपुर– ४ स्थित जिल्ला शाखाको परिसरमा अपाङ्गता दिवस मनाएको हो । 

सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइने आवास गृहको प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शिलान्यास गरेका छन्। भद्रपुरस्थित कोशी प्रदेशको आवासीय पुनर्स्थापना केन्द्रमा अहिले १४ जनालाई आश्रय दिइएको छ भने थप १० जना राख्ने सम्झौता भइसकेको छ। सम्झौता अनुसार अपाङ्गता भएकाहरूको पुनर्स्थापनाका लागि थप आवास गृह आवश्यक भएकाले भवन शिलान्यास गरिएको कार्यक्रमका अध्यक्ष श्रेष्ठले बताए। सो कार्यक्रममा विभिन्न समयमा संघलाई नगद तथा जिन्सी सहयोग गर्ने दाता महानुभावहरूलाई सम्मान गर्नुका साथै नगर उपप्रमुख राधा कार्कीले आफ्नो जन्मोत्सवको अवसरमा म्याट्रेस र तन्ना पनि वितरण गरिन्। त्यस्तै, नगरपालिकाले उपलब्ध गराएका अपाङ्गता सम्बन्धी सामग्री पनि सोही अवसरमा वितरण गरिएको थियो।

कार्यक्रममा अपाङ्ग संघ झापाका सभापति ऋषि चापागाईँले संघले भद्रपुरमा २५ शय्याको अर्थोपेडिक अस्पताल, अपाङ्गता भएकाहरूलाई विद्यालय, १ सय क्षमताको आवास गृह, सामुदायिक भवन, सहायक सामग्री मर्मत केन्द्र,तालिम हल, मनोरञ्जन स्थल र बगैँचा सहित कम्पाउन्ड वालको डिपीआर तयार भएको जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख पोखरेल, उपप्रमुख कार्की, वडाध्यक्ष हंशधर राजवंशी र मानवअधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले मन्तव्य राखेका थिए । 

अपाङ्गता पुनर्स्थापना केन्द्रका कार्यक्रम संयोजक केदार महतले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कञ्चनजङ्घा अपाङ्गता कल्याण संघ भद्रपुरका अध्यक्ष केशव न्यौपानेले राखेको थियो । 

सम्बन्धित समाचार