झापामा लागूऔषध प्रयोगकर्तालाई मनोपरामर्श र पुनःसामाजिकीकरण अभियान
झापा प्रहरीले लागू औषधको कुलतमा फसेकाहरूका लागि मनोपरामर्श र पुनःसामाजिकीकरण अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत लागू औषधको कुलतमा फसेका दुर्व्यसनकर्ताहरूलाई प्रशिक्षण दिने गरिएको छ । यसक्रममा लागू औषधको कुलतमा फसेका४५ जना दुर्व्यसनकर्ताहरूलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरी र प्रहरी नायव निरीक्षक सुवास मिश्रले लागू औषधको असर र प्रभाव, कसुर सजायलगायतका विषयमा प्रशिक्षण दिएका छन् ।
त्यस्तै पुनः स्थापना सुधार केन्द्र काँकडभिट्टाका सञ्चालक संदिप थापा र भीम लुइँटेलले उत्प्रेरणा बढाउने भनाइहरू समावेश गरी मनोरञ्जनात्मक विधिबाट प्रशिक्षण दिएका थिए । कार्यक्रममा दुर्व्यसनीका सामूहिक प्रतिबद्धता ‘I Dare No Drugs’ नाराका साथ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले समापन मन्तव्य राखेका थिए ।