२०८३ असार ११ गते , विहीबार

भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका पत्रकारलाई हरेक वर्ष ५०५५५ रुपैयाँका पुरस्कार 

sajilo news
झापा
२०८० मंसीर १७ गते , आईतबार
भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका पत्रकारलाई हरेक वर्ष ५०५५५ रुपैयाँका पुरस्कार 

भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो । 

अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउन्डेसन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौँमा दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा भएको सम्झौता अनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिने छ । 

सम्झौतामा हेम–सरिता फाउन्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरेका छन् ।  सम्झौताको रोहबरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले हस्ताक्षर गरेका छन् ।  हेम–सरिता फाउन्डेसनका संस्थापकका पिता टङ्कप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक वर्ष टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । 

अक्षयकोषको व्याजबाट भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्द्धनका लागि कलम चलाउने,  पत्रकारितामार्फत सुशासनका लागि महत्त्वपूर्ण योगदान गर्ने पत्रकारलाई पुरस्कृत गरिने छ । पुरस्कार वितरण यसै वर्षबाट वितरण गर्ने र यस वर्षको पुरस्कारको राशि आइतबार नै फाउन्डेसनले पत्रकार महासंघ झापालाई हस्तान्तरण गरेको छ । महासंघ झापाले यस वर्षको पुरस्कार छनोटको प्रक्रिया अघि बढाइसकेको छ । 

आगामी वर्षबाट भने महासंघको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन डिसेम्बर ९ तारिखमा उक्त पुरस्कार  प्रदान गरिने महासंघ झापाका सहसचिव राजु पाठकले बताए । महासंघले अक्षयकोष सञ्चालन र पुरस्कार  व्यवस्थापनको कामलाई  व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै कार्यविधि तयार गरी लागू गर्ने तथा  सबै काम कार्यविधि अनुसार गरिने जनाइएको छ ।

बिर्तामोड ४ स्थायी घर भई हाल अमेरिकाको टेक्सासमा रहेर व्यापार व्यवसायका साथै सामाजिक कार्यमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउन्डेसनले सामाजिक सँगै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । 

उक्त सम्झौता कार्यक्रम महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षता, केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पाठक, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारा बराललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व दीपक भेटुवाल,संञ्चाकर्मीहरुको आतिथ्य रहेको थियो । 

सम्बन्धित समाचार