झापा लिग : अर्जुनधारा नगरपालिका विजयी
भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।
आज भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीन वटै खेल हार्ने दमक एक मात्र टिम बन्यो । आजको पहिलो खेल शिवसताक्षी र कमलका बीचमा भए पनि कमल गाउँपालिका खेल बहिष्कारको कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक र ३ गोल प्राप्त गर्यो ।
समूह घ मा रहेको शिवसताक्षी र अर्जुनधाराको समान ७ अंक र बराबर गोल अन्तर भए पनि पहेँलो कार्ड प्राप्त गरेको आधारमा अर्जुनधारा समूह विजेता बन्यो । लिग चरणका खेलहरूमा अर्जुनधाराले एउटा र शिवसताक्षीले दुई वटा पहेँलो कार्ड पाएको थियो ।
समूह विजेता बनेको अर्जुनधाराले आजको खेलको ६४ औँ मिनेटमा राजेश दाहाल र ७३ औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच भएका अर्जुनधाराका बादल तामाङले नगद दुई हजार र ट्रफी पाए । प्लेयर अफ द म्याचको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीलगायतले प्रदान गरेका थिए ।
पहिलो क्वार्टर फाइनल खेल बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।