२०८३ भाद्र १ गते , सोमबार

मोरङ कारागारमा तनाव : खानतलासीसँगै कैदीबन्दीको नाराबाजी र प्रदर्शन

sajilo news
मोरङ
२०८३ भाद्र १ गते , सोमबार
मोरङ कारागारमा तनाव : खानतलासीसँगै कैदीबन्दीको नाराबाजी र प्रदर्शन

विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो।

लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो खानतलासी नियमित भएको बताए। यो समाचार तयार पार्दासम्म कारागारबाट कुनै अवैध वस्तु फेला परेको जानकारी भने छैन। 

खानतलासीसँगै कारागारका केही कैदीबन्दीको स्थानान्तरणको तयारी गरिएको थियो। विशेष गरेर आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेकाहरूलाई अन्यत्र कारागारमा सार्न खोजिएको सुरक्षा स्रोतले बतायो। स्रोतका अनुसार कारागारभित्र रहेर अभिषेक गिरीलाई सहयोग गरिरहेका १५ जना भन्दा बढी कैदीबन्दीलाई सार्न खोजिएको छ। तर, कारागारमा खानतलासी सुरु भएसँगै बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन्। खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरु प्रदर्शन र नाराबाजीमा उत्रिएका हुन्। उनीहरु कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएका थिए। तर, दमकलको सहयोगमा आगो निभाइएको थियो। 

आन्दोलनमा उत्रिएका कैदीबन्दीले बी ब्लकमा सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइरहेका छैनन्। भित्रबाट तालाबन्दी गरेर उनीहरुले प्रदर्शन र नाराबाजी गरिरहेका हुन्। यद्यपि, बल प्रयोग गरेर भएपनि भित्र प्रवेश गर्ने र गिरीलाई सहयोग गरिरहेका कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारी रहेको स्रोतले बतायो। 

मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडाबापत पाउँदै आएको सरकारी भत्ता कब्जा गरेको आरोपमा यसअघि असार १३ गते गिरी पक्राउ परेका थिए। आपराधिक विश्वासघात, ठगी मुद्दामा सीआईबी र जिल्ला प्रहरी कार्यालय मोरङले अलगअलग अनुसन्धानमा परेका उनी लामो समयदेखि आपराधिक धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ। तर, आपराधिक विश्वासघात, ठगी मुद्दामा जाहेरवालासँग सहमति गरेर उनी छुटिसकेका छन्। कारागारसँग जोडिएको घटनामा भने अनुसन्धान जारी छ।  

प्रहरीको हालसम्मको अनुसन्धानबाट कैदीबन्दीको सहयोगमा गिरीले कारागारभित्र पहुँच पुर्‍याउने गरेको पत्ता लागेको छ। उनैलाई सहयोग गर्दै आएकाहरुलाई अन्यत्र कारागार स्थानान्तरण गर्न खोजिएको सुरक्षा स्रोतले बतायो।

सम्बन्धित समाचार